News

Sep 12, 2009

पियनको छोराले एमबिबिएसमा नाम निकालेपछि डाक्टरहरू आन्दोलनमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
२६ भदौ वर्षौंदेखि भान्सामा भाँडा माझेर आफूहरूलाई सघाउँदै आएकी एक पियनको छोराले एमबिबिएस छात्रवृत्तिका लागि नाम निकालेपछि त्यसको विरोधस्वरूप महाराजगन्जस्थित शिक्षण अस्पतालका डाक्टरहरू आन्दोलनमा उत्रेको रहस्य खुलेको छ । गत २० दिनदेखि आन्दोलनमा रहेका चिकित्सकले अहिले खुलेआम नै प्रश्न गर्न थालेका छन्, 'पियनका छोराले डाक्टर पढ्न पाउने, डाक्टरकै छोराछोरीले नपाउने ?' उनीहरूले आफ्ना छोराछोरीलाई एमबिबिएस अध्ययनका लागि विशेष कोटा छुट्याइनुपर्ने माग गरेका छन् । आफ्ना छोराछोरीले अन्य कर्मचारीका छोराछोरीसँग प्रतिस्पर्धा नै नगरी विशेष कोटा पाउनुपर्ने माग गर्दै अस्पतालका चिकित्सक तथा प्राध्यापकले एक सातादेखि दुई बजेपछिको बिरामी जाँच्ने सेवा बहिस्कार गर्दै आएका छन् । त्यस्तै, २० दिनदेखि महाराजगन्ज क्याम्पस चिकित्साशास्त्रका विद्यार्थीको पठनपाठनसमेत ठप्प पारेका छन् त्यहाँका प्राध्यापक तथा चिकित्सकले ।चिकित्साशास्त्र अध्ययन संस्थान महाराजगन्ज क्याम्पसले १५ वर्षदेखि अस्पताल तथा क्याम्पसका कर्मचारीका छोराछोरीका लागि एमबिबिएस अध्ययनमा एउटा सिट छुट्याउँदै आएको छ । अस्पतालको कर्मचारी कोटामा भएको प्रतिस्पर्धामा यसपटक भान्सामा काम गर्ने पियन चाँचरी खड्काको छोरा सविन कार्कीको नाम निस्कियो । कार्कीको नाम निस्किएपछि आफ्ना छोराछोरीले कर्मचारीका छोराछोरीसँग प्रतिस्पर्धामा नाम निकाल्न नसक्ने ठहर गर्दै प्राध्यापक तथा डाक्टरहरू हड्तालमा उत्रिएका हुन् । सविन ८० भन्दा बढी प्रतिस्पर्धीलाई पछि पार्दै आफ्नो नाम निकाल्न सफल भएका थिए ।सविनकी आमा चाँचरी ०४१ सालदेखि शिक्षण अस्पतालको भान्सामा काम गर्दै आइरहेकी छिन् । छोरो १४ महिनाको हुँदा नै लोग्ने बितेकाले चाँचरी एक्लैले छोरा हुर्काइन् । माइतीमा पनि दाजुभाइ कोही नभएकोले आफ्नी आमाको जिम्मेवारी पनि चाँचरीले नै उठाउनुपर्‍यो । उनी अहिले पनि ललितपुर भैंसेपाटीमा रहेको माइतीमै बस्दै आइरहेकी छिन् । छोरा सविनलाई आफूले दुःखले हुर्काएको र त्यसमा आफ्नी आमाले गाईको दूध बेचेर नातिलाई कापी-कलमको जोहो गरेको पृष्ठभूमि चाँचरीले सुनाइन् । भनिन्, 'दुःख गरेर पढाएको छोराले डाक्टर पढ्न नाम निकालेपछि हामीलाई खुसी लागेको छ ।'छोराले कर्मचारीका छोराछोरीको कोटामा एमबिबिएस अध्ययनमा नाम निकालेपछि निकै खुसी बनेकी चाँचरी आफ्नै हाकिमहरू आफूविरुद्ध आन्दोलनमा उत्रिएपछि भने दुःखी बनेकी छिन् । 'कतिपय डाक्टरसापहरू घरमै आएर बधाई दिनुभयो, तर केही डाक्टर भने निकै रिसाए,' चाँचरीले नयाँ पत्रिकासँग गुनासो गरिन्, 'तर ठूला मान्छे भए पनि रिसाउनेहरूको मन ठूलो हुन सकेको रहेनछ । यो देखेर मेरो मन रोएको छ ।'

No comments: