News

Sep 27, 2009

महासभालाई सम्बोधन गर्दैगर्दा प्रधानमन्त्रीलाई कालो झण्डा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
असोज ११ प्रधानमन्त्री माधवकुमार नेपालले संयुक्त राष्ट्रसङ्घको ६४औँ महासभालाई सम्बोधन गर्दैगर्दा राष्ट्रसंघ भवनबाहिर विद्यार्थीहरुले कालो झण्डा देखाएका छन्। प्रदर्शनकारीहरुले निर्धारित समयमा संविधान बन्नुपर्ने लगायतका नाराहरु लगाएका थिए। स्वतन्त्र विद्यार्थी समूहको नाममा आयोजित कार्यक्रमलाई प्रगतिशील नेपाली फोरम अमेरिका र एलायन्स फर डेमोक्रेसी जस्ता संस्थाहरुले समर्थन र ऐक्यवद्धता जनाएका थिए ।अमेरिकी समय अनुसार मध्याह्न १२ बजेदेखि ३ बजेसम्म ड्याग ह्यामर्सोल्ड प्लाजा (यू्. एन. प्लाजा) को सडक नं पूर्व ४७, पथ १ र २ बीचमा बसेर उनीहरुले प्रदर्शन गरेका थिए। स्थानीय प्रशासनसँग अनुमति लिएर प्रदर्शन गरेका हुनाले प्रदर्शनमाथि प्रहरी हस्तक्षेप भएको थिएन। आयोजकहरुको अनुरोध अनुसार सहभागीहरुले कालो टि-सर्ट लगाएर र कालो झन्डा बोकेर आएका थिए। आयोजक प्रवास पोखरेलले संविधान लेख्ने काम पूरा गर्न दबाब दिनका लागि विरोध प्रदर्शन गरेको 'नागरिक'लाई बताए। 'जनताको चाहना राजनीतिक पार्टीहरुले मिलेर र विद्रोही समूहहरुसँग तत्काल वार्ता गरेर, समावेशी संविधान बनाउ भन्ने हो। तर यहाँ त चुनाव र भोटको बेइज्जत हुने गरी जनताले नचुनेको मान्छेले देशको नेतृत्व खोसेका छन्। हाम्रो विरोध त्यसैमा हो', उनले इमेल संवादमा बताए। उनका अनुसार विधिको शासन लागू गराउन र भारतीय हस्तक्षेपको विरोधका लागि पनि आजको प्रदर्शन आयोजना गरिएको हो। प्रधानमन्त्रीका प्रेस सल्लाहकार विष्णु रिजालका अनुसार प्रधानमन्त्री नेपाल अमेरिकी समयअनुसार, शनिबार राति ११३५ बजे कतार एयरको विमानबाट कतारको राजधानी दोहातर्फ उड्नेछन् भने मंगलबार बिहान साढे ८ बजे नेपाल आइपुग्नेछन्।

No comments: