लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पुस २३,एकीकृत माओवादीको केन्द्रीय समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल पक्षधरले प्रधानमन्त्री बाबुराम भट्टराईको चर्को आलोचना गरेका छन्। भट्टराई पक्षधरले पनि त्यसको बचाउ गर्दै आफ्नो भनाइ राखेका छन्। दाहाल पक्षले भारतसँग गरिएको लगानी प्रर्वद्धन सम्झौता (बिपा) को विरोध गरेपछि प्रधानमन्त्री भट्टराई पक्षधर नेताहरुले पनि पार्टी संस्थापनकै असहयोगले सरकारले प्रभावकारी काम गर्न नसकेको बताए। प्रधानमन्त्रीका स्वकीय सचिवसमेत रहेका केन्द्रीय सदस्य गंगा श्रेष्ठले शुक्रबारको बैठकमा सरकारलाई पार्टी संस्थापन पक्षधरबाटै सहयोग नभएकाले अपेक्षाअनुसार काम गर्न नसकिएको बताए। दाहाल पक्षधर नेताहरुले सरकारले बिपा सम्झौता गरी गल्ती गरेको, गुटको मन्त्रिपरिषद बनाएको भन्दै चर्का आलोचना गरेपछि श्रेष्ठले संस्थापनबाटै सहयोग नभएको बताएका हुन्। 'सरकारमा रहेका र नरहेकाहरुले सरकार र बिपाको विरोध गर्नुको कुनै औचित्य छैन', श्रेष्ठलाई उद्धृत गर्दै एक नेताले भने। उनको यो भनाइ सरकारमै रहेका दाहाल र नारायणकाजी श्रेष्ठ पक्षधरका नेताहरुप्रति लक्षित थियो। श्रेष्ठले 'पार्टी लाइनअनुसार सरकार बने पनि त्यसअनुरुप संगठन हुन नसकेका' कारण सरकारले प्रभावकारी हिसाबले काम गर्न नसकेको बताएका थिए। श्रेष्ठको भनाइको संकेत 'भट्टराईको राजनीतिक लाइनअनुसार सरकार बने पनि संगठनमा पकड हुन नसकेको' तर्फ थियो। भट्टराईको राजनीतिक लाइनअनुसार पार्टी चले पनि संगठनमा भने दाहाल र उपाध्यक्ष मोहन वैद्यको पकड देखिन्छ। शुक्रबारको बैठकमा स्थायी समिति सदस्य गिरीराजमणि पोखरेलले 'राजनीतिक लाइन, मुद्दा र विधिमा मतभेद रहेको' बताएका थिए। उनले बिपा सम्झौता असमान रहेको दाबी गर्दै सरकारले यस्तो सम्झौता गरेर गल्ती गरेको बताएका थिए। त्यस्तै हतियार राखिएका कन्टेनरको चाबी र लडाकु बुझाउने प्रक्रियामा छलफल नगरी निर्णय लिएर विधिमा गल्ती गरिएको बताएका थिए।
पार्टीले वर्गीय मुद्दा छाड्दै जातीय र क्षेत्रीय मुद्दा उठाउन थालेर गल्ती गरेको पनि उनको भनाइ थियो। सत्तामा बसेकाले सरकारी सुविधा र बाहिर रहेकाले डर, धम्कीका हिसाबले पार्टी चलाइरहेको प्रति उनले कटाक्ष गरेका थिए। उनले यसो भनेर भट्टराई पक्षले सरकारी सुविधा र दाहाल पक्षले पार्टीको खर्च सुविधाको उपभोग गरेर पार्टी चलाएको तर्फ संकेत थियो। एकता केन्द्र मसालबाट आएका पोखरेल उपाध्यक्ष श्रेष्ठ निकट मानिन्छन्। श्रेष्ठ र पोखरेल दुवै दाहाल पक्षधर भए पनि पार्टीको स्रोतसाधनमा पहँुच नभएकै कारण संस्थापनको विरोध गरेको नेताहरु बताउँछन्। बैठकमा पोखरेलले 'एउटा पार्टी दुईवटा कार्यनीतिले नचल्ने' भन्दै दाहाललाई मिलनबिन्दु खोजेर साझा दस्तावेज ल्याउन आग्रह गरेका थिए। शुक्रबारसम्म बोल्नका लागि नाम दर्ता गराएका १ सय ३१ जना केन्द्रीय सदस्यहरुले आफनो धारणा राखिसकेका छन्। अब बाँकी रहेका केन्द्रीय सदस्यहरुले वोल्न चाहे आइतबारको बैठकमा विचार राख्नेछन्। बाँकी सदस्यहरुले नबोलेको परिस्थितिमा भने त्यसै दिन आ-आफ्नो दस्तावेजमाथि दाहाल र वैद्यले जवाफ दिने पोलिटब्युरो सदस्य विश्वभक्त दुलालले जानकारी दिए।
No comments:
Post a Comment