News

Feb 12, 2009

एमालेमा तीन गुटको चुनावी तयारी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
महासचिवीय प्रणालीमा चल्दै आएको एमाले अब बहुपदीय प्रणालीमा जाने भएपछि तीन प्रभावशाली नेताले आ-आफ्ना निकटवर्तीमार्फत पार्टीभित्र पदको दाबेदारी प्रस्तुत गर्न थालेका छन् । आठौँ महाधिवेशन सुरु हुनुअघि नै नेता झलनाथ खनाल, केपी ओली र माधव नेपालले आ-आफ्ना गुटमा पदीय जिम्मेवारीको 'लिस्ट' सर्कुलर गरेर दाबेदारी तीव्र पारेका हुन् । महासचिव खनाल, पूर्वमहासचिव नेपाल र वरिष्ठ नेता ओलीले अध्यक्ष पदमा आफू उम्मेदवार हुने औपचारिक घोषणा नगरे पनि अध्यक्ष, उपाध्यक्ष, महासचिव र सचिवसहितको 'लिस्ट' आ-आफ्ना खेमाका महाधिवेशन प्रतिनिधिसम्म पुर्‍याइरहेका छन् । उम्मेदवारीको लिस्टमा तीनै पक्षका शीर्ष नेताले आफूलाई अध्यक्ष पदको दाबेदारका रूपमा प्रस्तुत गरेका छन् । संक्रमणकालीन अवस्थामा पनि महासचिवका रूपमा पार्टीको नेतृत्व गरेकाले खनाल, समन्वयकारी भूमिका र सबैलाई मान्य नेतृत्व भएकाले नेपाल र उग्रवामपन्थको चुनौतीलाई सामना गर्ने सामथ्र्य भएकाले ओलीलाई सर्वसम्मत अध्यक्ष बनाउनुपर्ने उनीहरूका निकटवर्तीहरूको आ-आफ्नै दलिल छ । 'एउटा भूमिकाबाट अर्को भूमिकामा जाने विधिअनुसारै गए पनि झलनाथ खनाल पार्टी अध्यक्ष बन्ने पक्का छ । त्यसमाथि पनि प्रतिनिधि चयनको देशव्यापी अवस्था हेर्दा उहाँ नै अध्यक्ष बन्नुहुनेछ,' केन्द्रीय सदस्य सुरेन्द्र पाण्डेले नयाँ पत्रिकासँग भने । पाण्डे खनालनिकट सदस्यका रूपमा चिनिन्छन् ।खनाल पक्षले नेता नेपाललाई वरिष्ठ नेता र ओलीलाई उपाध्यक्षका रूपमा प्रस्तुत गर्ने प्रस्ताव अगाडि सारेको छ । खनाल पक्षले प्रचार विभाग प्रमुख ईश्वर पोखरेललाई महासचिव र स्थायी समिति सदस्य युवराज ज्ञवालीलाई सचिवको उम्मेदवारका रूपमा अगाडि सार्ने तयारी गरेको छ । संक्रमणकाललाई निकासमा पुर्‍याउन समन्वयकारी भूमिका निर्वाह गर्नसक्ने भएकाले सर्वसम्मत रूपमा पूर्वमहासचिव नेपाल अध्यक्ष बन्नुपर्ने उनीनिकट नेताहरूको तर्क छ । 'हिजो महासचिवका रूपमा सबैलाई समेटेर लैजाने योग्यता देखाइसकेका र नैतिकवान् नेता भएकाले पनि आज उहाँको सर्वोच्च नेतृत्व आवश्यक छ,' नेपालनिकट एक केन्द्रीय सदस्यले भने । अध्यक्ष पदका अन्य दाबेदारलाई पनि अन्य पदमा स्थापित गर्न नेपालको नेतृत्वमा मात्र सम्भव हुने उनको भनाइ थियो । नेपाललाई सर्वसम्मत अध्यक्ष बनाएर उपाध्यक्ष र महासचिवमा ओली र खनाललाई मिलाएर राख्नुपर्ने उनीनिकटहरूको तयारी रहेको छ । अध्यक्षका दाबेदार वरिष्ठ नेता ओली एमालेको वास्तविक राजनीतिक धारबाट राजनीतिलाई हिँडाउन सामथ्र्य राख्नसक्ने भएकाले उग्रवामपन्थसँग जुधेर एमालेलाई उचाइ दिन उनको नेतृत्व आवश्यक भएको ठान्छन् ओलीनिकट नेताहरू ।'उग्रवामपन्थ चुनौतीका रूपमा खडा छ पार्टी र मुलुककै लागि, त्यसको सामना गर्नसक्ने सामथ्र्य ओलीको नेतृत्वमा मात्र सम्भव छ,' ओली पक्षधर एक नेताले नयाँ पत्रिकालाई बताए । नेपाल र खनालको नेतृत्वको एमालेपंक्तिले परीक्षा गरिसकेको उनीहरूको भनाइ छ । 'माधवको १५ वर्ष र झलनाथको दुईपटक गरी आठ वर्ष एमालेले नेतृत्व पाइसकेको छ, त्यसकारण नयाँ परिस्थितिको सामना गर्नसक्ने हैसियत भएका ओलीलाई अध्यक्ष बनाउन खनाल र नेपाल दुवैले साथ दिए राम्रो हुन्छ,' केन्द्रीय सदस्य देवराज घिमिरेले नयाँ पत्रिकालाई बताए ।अघिल्लो महाधिवेशनमा ओलीले प्रस्तावित गरी स्थगन गरेको बहुपदीय संरचनासम्बन्धी प्रस्तावमा यसपटक पार्टी एकढिक्का भएर गएकाले पनि ओलीको नेतृत्व क्षमता र प्रभाव स्पष्ट हुने उनको भनाइ थियो । ओली पक्षले पनि नेपाललाई वरिष्ठ नेता वा उपाध्यक्ष र खनाललाई महासचिवका रूपमा अगाडि सार्ने तयारी गरेको छ । अन्य पदमा भने मुख्य नेताहरूबीच सहमति गरी अगाडि बढ्नुपर्ने ओली पक्षको भनाइ छ । महाधिवेशनको हलबाट निर्वाचित केन्द्रीय कमिटीले अध्यक्ष, उपाध्यक्षलगायत पदाधिकारी चुन्ने भए पनि नेताहरू भने प्रत्यक्ष निर्वाचनकै तयारीमा देखिएका छन् । केन्द्रीय कमिटीले महाधिवेशनका लागि तयार गरेको विधान संशोधन प्रस्तावमा पदाधिकारीको चयन केन्द्रीय कमिटीले गर्ने प्रावधान छ । तर, युवा केन्द्रीय सदस्यहरूले महाधिवेशनका लागि प्रस्तुत गरेको प्रस्तावमा अध्यक्षलगायत सबै पदाधिकारी महाधिवेशन हलबाटै प्रत्यक्ष निर्वाचित गरिनुपर्ने उल्लेख छ ।अध्यक्षलगायत पदाधिकारीहरूको पनि प्रत्यक्ष चुनाव भए अध्यक्षका प्रत्यासी तीनै नेताले एक-अर्कालाई पदाधिकारीको टिममा सामेल नगरी चुनावमा जाने स्पष्ट देखिएको छ । प्रत्यक्ष निर्वाचनद्वारा अध्यक्षलगायत पदाधिकारीको पनि चयन भए अध्यक्ष चुन्ने काम केन्द्रीय कमिटीको नभई सबै प्रतिनिधिका हातमा पुग्नेछ ।

No comments: