News

Feb 25, 2009

माओवादी कार्यकारी राष्ट्रपतिको पक्षमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
एकीकृत नेकपा (माओवादी) संसदीय दलको बैठकले कार्यकारी राष्ट्रपतिसहितको शासन व्यवस्था रहने गरी नयाँ संविधान बन्नुपर्नेमा जोड दिँदै सुझाव सङ्कलनका लागि पार्टीका सभासद्हरूलाई गाउँगाउँ पठाउने निर्णय गरेको छ । बुधबार दलको कार्यालय सिंहदरबारमा बसेको बैठकले नयाँ संविधानको खाकाबारे छलफल गर्दै यस्तो निर्णय गरेको हो । नयाँ संविधानको मस्यौदा निर्माण गर्न पार्टीको वरिष्ठ नेता तथा अर्थमन्त्री डा. बाबुराम भट्टराईको संयोजकत्वमा गठित संविधान मस्यौदा सुझाव समितिले प्रस्तुत गरेको प्रारम्भिक खाकामाथि छलफल गर्दै बैठकले जाति, भाषा र क्षेत्रको आधारमा सङ्घीय राज्य निर्माण हुनुपर्ने आˆनो पूर्वअडानमा जोड दिएको छ । बैठकबारे जानकारी दिँदै पार्टी प्रवक्ता दीनानाथ शर्माले निर्वाचन प्रणाली मिश्रति हुनुपर्ने र मुलुकको राज्य व्यवस्था प्रतिस्पर्धात्मक बहु्दलीय लोकतान्त्रिक प्रणालीमा आधारित हुनुपर्ने निर्णय भएको बताउनुभयो । पार्टीका सभासद् विश्वभक्त दुलाल (आहुति)ले खाकामा राज्यको भाषिक नीति त्रिभाषिक -स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय) हुनुपर्ने उल्लेख गरिएको बताउनुभयो । शर्माले विभिन्न पेसा तथा क्षेत्रका समुदायका व्यक्तिहरूको सुझाव लिन बहसका लागि पार्टीले खाका प्रस्तुत गरेको बताउनुभयो । मस्यौदाले नयाँ संविधानको सैद्धान्तिक पक्षमा संविधानसभाको निर्वाचन अगाडि पूर्वनेकपा -माओवादी)द्वारा प्रस्तु्त प्रतिबद्धतापत्रमा उल्लिखित कुराहरूलाई प्राथमिकता दिइएको छ । बैठकले पार्टी संविधानसभा दलको उपनेतामा नारायणकाजी श्रेष्ठ 'प्रकाश'लाई चयन गरेको छ । त्यस्तै समानुपातिक मतको आधारमा निर्वाचित सभासद्हरूले पाउने संसदीय विकास कोषको रकम दुर्गम तथा पछाडि परेको क्षेत्रमा खर्च गर्ने नीतिगत निर्णय गरेको छ । रकम विशेषगरी तराई तथा पार्टीको उमेद्वार नभएको क्षेत्रमा खर्च गरिनेछ । खर्च गरिने क्षेत्रको अन्तिम निर्णय भने पार्टी केन्द्रीय समितिलाई दिने निर्णय भएको शर्माले बताउनुभयो ।

No comments: