News

Feb 21, 2009

लगातारको बन्दले जनजीवन कष्टकर

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
यातायात व्यवसायीले सहकर्मी हत्याको विरोधमा आव्हान गरेको बन्दका कारण इलामको जनजीवन प्रभावित बनेको छ । आइतबार बिहानै देखि मेची राजमार्ग र आसपासका सडकमा सवारी साधन चलेका छैनन् भने बजार पसल, कलकारखाना तथा शैक्षिकसंस्था ठप्प छन् । उनीहरूले यातायात व्यवसायी कल्याण रिमालको हत्याको विरोधमा मेची अञ्चल बन्द आव्हान गरेका हुन् । रिमालको शव शनिबार अपरान्ह फेला परेको थियो । व्यवसायीहरूले हत्यारालाई कारवाहीको माग गरेका छन् । एक साता देखिको लगातारको बन्दले मेचीका पहाडि जिल्लाको जनजीवन कष्टकर बन्दै गएको छ । बजारमा दैनिक उपभोग्य सामानको समेत अभाव हुन थालेको छ । कार्यालय पुनःस्थापनाको माग गर्दै फिकलबासीले सोमबार देखि गरेको बन्द खुलेपनि भाडा समायोजन गर्न विद्यार्थीहरूले विप्ल्याँटे क्षेत्रमा सडक अवरुद्ध पारेका थिए । विद्यार्थीको बन्द जारी रहेकै अवस्थामा व्यवसायीको बन्द थपिएको हो । त्यस्तै, कोशी पीडित संघर्ष समितिले पूर्व-पश्चिम राजमार्गमा चक्काजाम जारी राखेका छन् । चक्काजामका कारण राजमार्गको कोशी व्यारेज-इनरुवा खण्डमा तीन सय भन्दा बढी सवारी साधन अलपत्र परेका छन् । सुनसरीका प्रमुख जिल्ला अधिकारी दुर्गा भण्डारीका अनुसार यातायात नचलेपछि पाँच हजार भन्दा बढी यात्रु शनिबार बिहानै देखि सडकमा बसेका छन् । कोशी पीडितले कोशी व्यारेज देखि इनरुवासम्म भण्डै तीस किलोमिटर क्षेत्रमा राजमार्गको दायाँ/बायाँ दर्जनौं रुख काटेर बाटो अवरुद्ध पारेका छन् । आन्दोलनका कारण चारदिन देखि यातायात अबरुद्ध भएपछि समस्या समाधानका लागि वार्ताको प्रयास भैरहेको प्रजिअ भण्डारीले जानकारी दिए ।

No comments: