News

Feb 27, 2009

प्रचण्डले दरबार हत्याकाण्डबारे छानबिन गर्ने प्रतिबद्धता

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
दरबार हत्याकाण्डबारे छानबिन गर्ने प्रतिबद्धता जनाउँदै बिहीबार नारायणहिटी संग्रहालय छिरेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले त्रिभुवन सदननजिकैको भित्तामा लागेका गोलीका दाग निरीक्षण गर्दै भने, 'यी दाग सुरक्षित राख्नुपर्छ है, छानबिनका लागि आवश्यक प्रमाण हुन सक्छन् ।' प्रधानमन्त्रीलाई बि्रफिङ गरिरहेका नारायणहिटी संग्रहालय प्रमुख तथा दरबारका पूर्वकर्मचारी जयराम महर्जनले प्रधानमन्त्रीबाट त्यस्तो निर्देशन आउनासाथ जवाफ दिए, 'भन्नैपर्दैन हजुर, सधैं सुरक्षित रहने छन् ।' महर्जनले त्यसो भन्दा प्रधानमन्त्रीसँगै रहेका सभामुख सुवास नेम्वाङ र शान्तिमन्त्री जनार्दन शर्मा प्रभाकरले टाउको हल्लाउँदै गोलीका दाग सुरक्षित राख्नुपर्नेमा समर्थन जनाएका थिए । नारायणहिटी संग्रहालय प्रदर्शनीको उद्घाटन गर्ने क्रममा निकै भावुक देखिएका प्रचण्डले तत्कालीन राजा वीरेन्द्रको वंशविनाश हुनेगरी गराइएको हत्याकाण्डको दोषी पत्ता लगाउन अब धेरै दिन कुन नपर्ने दाबी गरे । उनले प्रतिबद्धता दर्शाए, 'दरबार हत्याकाण्डबारे उचित छानबिन गरेर दोषीलाई कठघरामा उभ्याएरै छाडिन्छ ।' प्रचण्डले दरबार हत्याकाण्ड भएको त्रिभुवन सदन भत्काएर तत्कालीन राजा ज्ञानेन्द्रले प्रमाण नष्ट गर्न खोजेको आरोपसमेत लगाए । 'तर हामी एक-एक गरी प्रमाण खोजी गर्छौं, प्रधानमन्त्रीको हैसियतले यसको पहलकदमी म आफंैले गर्नेछु,' प्रचण्डले भने । दिउँसो ३ बजे नारायणहिटी छिरेका प्रधानमन्त्री प्रचण्डले झन्डै ढेड घन्टा संग्रहालयमा नै बिताए । 'यस्ता भव्य कक्ष र बगैंचाहरूमा शयर गर्ने रहेछन् राजाहरू,' सँगै रहेका सभामुख नेम्वाङ र शान्तिमन्त्री शर्मासँग प्रचण्डले भने, 'यो त हैदरावाद हाउसजस्तै भव्य रहेछ ।' लम्जुङ हाउसको अवलोकन गर्दै उनीहरूले प्रश्न गरे, 'आखिर किन चाहिन्थ्यो र यस्ता भव्य कोठा ?' संग्रहालय अवलोकनपछि प्रधानमन्त्री प्रचण्डले संग्रहालय ऐतिहासिक भएको प्रतिक्रिया दिए । उनले यसको संरक्षण र जगेर्ना गर्न सकिएमा विदेशी पर्यटकका लागि पनि आकर्षणको केन्द्र बन्न सक्ने बताए । सर्वसाधारणलाई आजबाट खुला नारायणहिटी संग्रहालय सर्वसाधारणका लागि शुक्रबारदेखि खुला गरिएको छ । यहाँ आउने सर्वसाधारणले पूर्वराजाले प्रयोग गर्ने विभिन्न वस्तु, फोहोरा बगैंचा र दरबार हत्याकाण्ड भएको त्रिभुवन सदनको अवलोकन गर्न पाउने छन् । संग्रहालयमा मूल ढोकाबाट पसेर दरबार हत्याकाण्ड भएको ठाउँमा पुगेपछि अवलोकन पूरा हुनेछ । संग्रहालय प्रवेशका लागि नेपाली नागरिकलाई एक सय, विद्यार्थीका लागि २०, चीन तथा सार्क राष्ट्रका दर्शकलाई दुई सय ५० र अन्य राष्ट्रका दर्शकलाई पाँच सय रुपैयाँ शुल्क लाग्नेछ ।

No comments: