News

Feb 19, 2009

पूर्वी क्षेत्रका पाँच सय ५७ सीमास्तम्भ भारतीय पक्षले गायब

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सरकारी बेवास्ताका कारण पूर्वी क्षेत्रका पाँच सय ५७ सीमास्तम्भ भारतीय पक्षले गायब बनाएको पाइएको छ । सुगौली सन्धिपछि बनाइएका सीमास्तम्भहरू गायब भएका हुन् । पूर्वको झापा, इलाम, मोरङ, सुनसरी र सप्तरीका पाँच सय ५७ वटा सीमास्तम्भ गायब भएका हुन् । सीमा सुरक्षाका लागि खटिएको सशस्त्र सीमा सुरक्षाबलले गणना गरेको संख्या र सरकारसँग रहेको तथ्यांकका आधारमा सीमा स्तम्भ गायब भएको तथ्य थाहा भएको हो । नापी विभागको तथ्यांकअनुसार पूर्वमा एक हजार ६ सय ६५ वटा सीमास्तम्भ छन् । तर, सशस्त्र प्रहरीबल पूर्वी मुख्यालय वराहवाहिनी अन्तर्गत खटाइएका सीमा सुरक्षाबलको अवलोकनमा भने कमी रहेको पाइएको छ । प्रत्यक्ष अवलोकनसहित गरेको गणनामा एक हजार एक सय आठवटा मात्र सीमास्तम्भ फेला परेको डिआइजी कृष्णकुमार तामाङले बताए । उनका अनुसार बाँकी सीमास्तम्भको नाम-निसाना नै छैन । भारतीय सीमा सुरक्षाबल (एसएसबी) सीमा मिचेर नेपाली भूभागमा बस्ने तथा भारतीय नागरिकले सीमाक्षेत्रमा अतिक्रमण गर्ने क्रममा ती स्तम्भ गायब बनाइएको स्थानीय बासिन्दाले प्रहरीलाई जानकारी गराएका छन् ।सशस्त्र प्रहरी सीमा सुरक्षाबलका अनुसार झापामा नौ सय ८८ वटा सीमास्तम्भ स्थापना गनुपर्नेमा सात सय २८ वटा मात्र स्थापना गरिएका छन् । स्थापना गरिएका मध्ये दुई सय ५६ वटा मात्र भेटिएका छन् । झापाको सीमाक्षेत्रबाट मात्र चार सय ७५ सीमास्तम्भ गायब भएका छन् । मोरङमा पनि तीनवटा सीमास्तम्भ गायब भएका छन् । मोरङका ८४ सीमामध्ये ८३ वटा मात्र भेटिएका छन् । सुनसरीका दुई सय ५३ सीमास्तम्भमध्ये दुई सय ४५ वटा मात्र भेटिएका छन् । सुनसरीका विभिन्न ठाउँबाट आठवटा सीमास्तम्भ गायब भएको प्रमुख जिल्ला अधिकारी दुर्गाप्रसाद भण्डारीले बताए । यसैगरी सप्तरीका दुई सय ७४ वटा सीमामध्ये सीमा सुरक्षाबलको अनुगमनमा एक सय ७६ वटा मात्र फेला परेका छन् । सीमा गायब भएका क्षेत्रमा भारतीय अतिक्रमण बढेको पाइएको प्रहरीले जनाएको छ । पूर्वका पाँचवटा जिल्लामा दुई हजार चार सय ४१ वटा सीमास्तम्भ स्थापित गर्नुपर्नेमा एक हजार ६ सय ५५ वटा मात्र स्थापना गरिएको नापी विभागले जनाएको छ । प्राकृतिक प्रकोपका कारण केही हराए पनि भारतीय अतिक्रमणका कारण बढी सीमास्तम्भ हराएको सीमा अनुसन्धानकर्ताहरू बताउँछन् । सीमा जागरण नेपालका अध्यक्ष जीवच्छ साहका अनुसार भारतीय पक्षबाट अतिक्रमण एकाएक बढ्दा स्तम्भहरू हराउने गरेका छन् । सीमाका बारेमा स्थानीय स्तरमा नेपाल तथा भारतका सुरक्षा अधिकारीबीच बारम्बार छलफल हुने गरेको छ । छलफलमा सीमाबारे अधिकारीहरू संवेदनशील रहेकोसमेत बताउने गरेका छन् । तर, व्यवहारमा नेपाल तथा भारतका अधिकारीले ध्यान नदिएको सीमाक्षेत्रका अगुवा मुरारी सुवेदीले बताए । उनका अनुसार सुनसरीको करिब दुई सय मिटर नेपाली भूमि भारतभित्र परिसकेको छ । अतिक्रमणको चपेटामा सुनसरीको श्रीपुर गाविसका पूर्वअध्यक्षको घरसमेत रहेको छ ।सशस्त्र प्रहरी पूर्वी मुख्यालय वराह वाहिनीका प्रहरी नायब महानिरीक्षक कृष्णकुमार तामाङले सीमा सुरक्षाबलले गरेको मूल्यांकन र तयार गरेको तथ्यांक गृह मन्त्रालय पठाउने गरिएको बताए । भारतीय सुरक्षा अधिकारीहरूसँगको छलफलमा सीमास्तम्भ गायब भएको विषय उठाएको र समस्या समाधानका लागि दुवै पक्षले वचनबद्धता प्रकट गरेको बताए । तर, यो समस्या केन्द्रस्तरबाट नै समाधान गरिनु उपयुक्त हुने उनको भनाइ छ ।

No comments: