News

Feb 17, 2009

ट्यांकर व्यवसायी हड्तालमा उत्रिएपछि पेट्रोलियम ढुवानी ठप्प

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपाल आयल निगमले २० वर्षे पुराना ट्यांकरबाट ढुवानी इजाजत रद्द गरेको विरोधमा ट्यांकर व्यवसायी हड्तालमा उत्रिएपछि पेट्रोलियम ढुवानी ठप्प भएको छ । आयल निगमले १९ माघमा २० वर्ष पुराना ट्यांकर विस्थापन गर्ने निर्णय गरेको विरोधमा सोमबारदेखि ट्यांकर व्यवसायी हडतालमा उत्रिएका हुन् । मध्यमाञ्चल पेट्रोलियम ढुवानी व्यवसायी संघ ट्यांकर आन्दोलन मूल संघर्ष समितिको आह्वानमा गरिएको हड्तालका कारण अमलेखगन्ज डिपोबाट मुलुकभर ढुवानी हुने करिब २ सय ५० ट्यांकरले ढुवानी नगरी आन्दोलित भएको संघर्ष समितिका संयोजक सुरेन्द्र श्रीवास्तवले बताए । व्यवसायी आयल निगमले सो निर्णय खारेज गर्नुपर्ने, नयाँ ट्यांकर थप गर्न नपाइनेलगायत १४ सूत्रीय माग राखी आन्दोलन गरेको जनाएका छन् । तोकिएका पेट्रोल पम्पसम्म समयमै पुराना ट्यांकर पुग्न नसक्ने, ट्यांकरमा रहेको पेट्रोलिय पदार्थ तापक्रम घट्ने, ट्यांकी बनावटलगायत विविध पक्ष कमजोर भएकाले निगमले २० वर्षे पुराना ट्यांकर हटाउने निर्णय गरेको थियो । निगमको सो निर्णयबाट मध्यमाञ्चल संघमा आबद्ध करिब दुई सय पुराना ट्यांकर ढुवानी गर्नबाट वञ्चित हुनेछन् । संघका मात्रै १४ सय ८७ ट्यांकर रहेको जनाइएको छ । सोमबारदेखि गरिएको ढुवानी अवरुद्धले तत्कालै असर नदेखिए पनि मंगलबारदेखि मुलुकभर अभाव हुँदै जाने नेपाल आयल निगम अमलेखगन्जले जनाएको छ । १४ सूत्रीय मागमध्ये सबै पूरा गरिनुपर्नेमा संयोजक श्रीवास्तवले जोड दिए । ट्यांकर चालक अर्जुन नेपाल निर्णय लागू भए करिब एक हजार चालक तथा सहचालक परिवार प्रत्यक्ष मारमा पर्ने बताउँदै आन्दोलनको विकल्प नभएको बताउँछन् । यसैबीच, संघर्ष समिति र आयल निगमका क्षेत्रीय प्रतिनिधि सम्मिलित अमलेखगन्जमा सोमबार भएको वार्ता विनानिष्कर्ष टुंगिएको छ ।

No comments: