News

Feb 12, 2009

माओवादीहरुलाई आतंककारी सूचीबाट तत्काल नहटाइने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
संयुक्त राज्य अमेरिकाका एकजना वरिष्ठ अधिकारीले नेपालका माओवादीहरुलाई आफ्नो सरकारको आतंककारी सूचीबाट तत्काल नहटाइने बताएका छन्।दुईदिने नेपाल भ्रमणमा आएका दक्षिण तथा मध्य-एसिया मामिलासम्बन्धी सहायक विदेशमन्त्री रिचर्ड बाउचरले एकीकृत नेकपा माओवादीले आफू प्रजातान्त्रीक दलका रुपमा रुपान्तरण भएको पुष्टी गर्न अझै धेरै गर्नुपर्ने बताएका छन्। माओवादीहरुले सत्ताको बागडोर सम्हालेपछि नेपाल भ्रमण गर्ने बाउचर वरिष्ठतम् अमेरिकी अधिकारी हुन्। भ्रमणको अन्त्यमा बिहिबार पत्रकार सम्मेलनमा बोल्दै बाउचरले माओवादी नेतृत्वको सरकारसँग अमेरिकी सरकारले सामान्यरुपमा व्यवहार गरिरहेको बताए। "यद्यपी माओवादी दलसँग अमेरिकी सरकारको सम्बन्ध अझै सामान्य हुन सकेको छैन," उनले भने। उनले माओवादीलाई आतंकारीहरुको सूचीबाट हटाउने प्रक्रिया आफ्नो सरकारले थालिसकेको उल्लेख गरे। उनले भने, “जतिबेला माओवादीहरुले आतंकवादलाई शव्द र कर्म दुबैमा त्यागेको हामीलाई लाग्छ, त्यतिबेला मात्र उनीहरुलाई आतंककारीको सूचीबाट हटाउन सकिनेछ।”शान्ति प्रक्रियामा आईसकेपछि पनि आफ्नो दललाई अमेरिकी सरकारले आतंककारीहरुको सूचीबाट नहटाएकोमा माओवादी नेताहरुले खिन्नता प्रकट गर्ने गरेका छन्। नेपालमा रहँदा बाउचरले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ मन्त्रीहरु, प्रमुख राजनीतिक दलका नेताहरु र नेपाली सेनाका प्रमुखसँग भेट गरेका थिए। बाउचरले उनको सरकारले नेपाललाई दिईआएको सहयोग जारी रहने बताएका छन्। तर अमेरिकी दूतावासका सुत्रहरुका अनुसार, सरकारको नेतृत्व गरिसकेपछि पनि माओवादी कार्यकर्ताहरुबाट उद्योग-व्यवसाय र प्रेसमाथि आक्रमण र न्यायपालिकामाथि हस्तक्षेप जारी रहेकोले अमेरिकी सरकार माओवादीको व्यवहारप्रति सन्तुष्ट हुन सकेको छैन।

No comments: