News

Feb 12, 2009

एसीसी यु-१७ इलाइट कपको उपाधि नेपालले

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
आकाश परियार र सागर पुनको कीर्तिमानी ब्याटिङपछि नेपालले बिहीबार मलेसियाको चुनौती १० विकेटले पार गरेर एसीसी यु-१७ इलाइट कपको उपाधि हात पार्दै इतिहास रचेको छ ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले ३७.१ ओभरमा अलआउट हुँदै १२४ रनको योगफल तयार पारेको थियो । आकाश र सागरले घरेलु भूमि र घरेलु दर्शकको समर्थनबाट ऊर्जा प्राप्त गर्दै पहिलो विकेटको लागि विजयी रनसम्म अविजित साझेदारी गरेपछि नेपालले २३.३ ओभरमा नै लक्ष्य हासिल गर्‍यो । यु-१७ क्रिकेटको उपाधि पहिलोपटक जितेपछि नेपालले एसीसीका सबै समूहको उपाधि विजेताको रूपमा आफूलाई उभ्याएको छ । नेपाल एसीसी यु-१५ र यु-१९ को साविक विजेता पनि हो । यसैगरी, एसीसी यु-१७ को उपाधि टेस्ट नखेल्ने राष्ट्रले जितेको यो पहिलोपटक हो । आकाश र सागरको साझेदारी यस प्रतियोगिताकै पहिलो विकेटको लागि सर्वाधिक ठूलो साझेदारी हो । सागरले छक्का प्रहार गर्दै यस प्रतियोगितामा नेपालकै लागि पहिलो अर्धशतक पूरा गरे । केही समयपछि आकाशले पनि चौका प्रहार गरेर ५० रनलाई छोए । सागर ६५ र आकाश ५३ रन बनाएर अन्तसम्म आउट भएनन् ।
यसअघि, नेपालको लागि सर्वाधिक व्यक्तिगत रन ३८ थियो । सागरले मात्र ६० बलको सामना गरी सात चौका र तीन छक्का प्रहार गरे । सागर नै फाइनलको म्यान अफ दि म्याच घोषित भए । यसैगरी, आकाश यस प्रतियोगितामा नेपालका सर्वश्रेष्ठ ब्याट्सम्यान चुनिए । फाइनलमा आकाशको ८१ बलको संयमपूर्ण पालीमा पनि सात चौका सामेल थियो ।यसअघि मलेसियाका प्रारम्भिक ब्याट्सम्यान जुबेर नोराज्मीले ३९ बलमा नै छ चौका प्रहार गरी सर्वाधिक ३१ रनको पाली खेले ।

No comments: