News

Feb 17, 2009

दुई बालिकालाई बलात्कार गर्ने अहेव प्रहरी खोरमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
उपचारको बहानामा दुई बालिकालाई बलात्कार गर्ने अहेव प्रहरी खोरमा परेका छन् । छिन्ताङ उपस्वास्थ्य चौकीमा कार्यरत बलात्कारी अहेव मोहमम्द नासिर हुसेनलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय धनकुटामा सोमबार बुझाएका हुन् । स्थानीय माविमा अध्यनरत छात्राद्वय सीता राई र अनिता राई (दुवै नाम परिर्वतन) लाई बलात्कार गर्ने अहेव हुसेनलाई कारबाहीका लागि थुनामा राखिएको प्रहरी नायब उपरीक्षक गणेश ऐरले जानकारी दिए । छिन्ताङका बासिन्दाले बालिका बलात्कारीलाई विनाकारबाही नछोड्न प्रहरी प्रशासनसँग आग्रह गरेका छन् ।स्थानीय बासिन्दाका अनुसार उपचारका लागि स्वास्थ्य-चौकीमा गएका वेला अहेव हुसेनले दुवैलाई बलात्कार गरेका हुन् । पीडित बालिकाहरूका अनुसार रजस्वला गडबढी भएर परीक्षणका लागि चौकीमा गएपछि अहेवले अँध्यारो कोठामा लगेर जबर्जस्ती गरेका थिए । 'पेट र योनी चेक गनुपर्छ' भन्दै अहेवले अँध्यारो कोठामा पालैपालो लगेर बलात्कार गरेको उनीहरूले बताए । 'मलाई पहिला पेट र योनी चेक गर्नुपर्छ भनेर अँध्यारो कोठामा लग्यो, त्यसपछि जबर्जस्ती गर्‍यो । कराउँदा मुख छोपिदियो,' आफू भागेपछि हुसेनले साथीलाई पनि त्यसै गरेको बताउँदै सीताले भनिन्, 'म त भागिहालेँ, पछि साथीलाई पनि त्यसै गरेछ ।' घटना बिहीबार अपराह्न घटेको पीडितले बताएका छन् । तर, गाउँलेले शनिबार मात्र घटनाका बारेमा जानकारी पाएको उपस्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष राम राईले बताए । घटना थाहा पाएपछि अहेवलाई नियन्त्रणमा लिएर प्रहरी कार्यालयमा बुझाएको अध्यक्ष रामले बताए ।हुसेनमाथि यसअघि पनि बलात्कार गर्न खोजेको आरोप लागेको थियो । ६ महिनाअघि मुढेबास उपस्वास्थ्य चौकीमा कार्यरत रहेका वेला स्थानीय महिलालाई बलात्कार गर्न खोजेको भन्दै उनलाई गाउँलेले जुत्ताको माला र कालो मोसो दलेर गाउँनिकाला गरेका थिए । त्यसपछि जिल्ला स्वास्थ्य कार्यालयले उनलाई छिन्ताङमा सरुवा गरेको हो ।

No comments: