News

Feb 23, 2009

दुर्घटनामा प्रहरी र सेनाका हवल्दारसहित तीनजनाको मृत्यु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सुनसरीको चतारामा आइतबार दिउँसो भएको दुर्घटनामा प्रहरी र नेपाली सेनाका हवल्दारसहित तीनजनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । दुर्घटनामा प्रहरी हवल्दार चतरा प्रहरी चौकीमा कार्यरत धरान- ८ का पदमबहादुर राई, पाँचथरमा कार्यरत नेपाली सेनाका हवल्दार गुल्मी घर भएका रामचन्द्र पोखरेल र अर्की एक यात्रु महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक महिलाको सनाखत हुन सकेको छैन । घाइतेमध्ये इटहरीमा कार्यरत प्रहरी जवान झापा घर भएका रोशन दाहाल, झापा बेलडाँगी- २ भुटानी शरणर्थी चतुरमान विक, पाँचथरमै कार्यरत नेपाली सेनाका सिपाही दैलेख घर भएका कर्णबहादुर खड्का, सप्तरी बेल्ही- ७ का रोशनकुमार गुप्ता र गाडी कन्डक्टर नरेन्द्र श्रेष्ठको बिपी कोइराला स्वस्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ । कर्ण खड्काको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ । चतारामा रहेको फेरी तर्ने ओरालोमा ना.३ख२५४५ नम्बरको बसको ब्रेक फेल भई ना.२ख६६७३ नम्बरको बसलाई ठक्कर दिँदा दिउँसो तीन बजे दुर्घटना भएको हो ।यता, सुनसरीकै दुहवी- ४ मा दिउँसो भारतीय ट्यांकरको ठक्करबाट ट्राफिक प्रहरी जवान गोपाल निरौला घाइते भएका छन् । घाइते निरौलाको कोसी अञ्चल अस्पताल विराटनगरमा उपचार भइरहेको प्रहरीले बताएको छ । डब्लु बी ७३ अब्लिक ४४७५ नम्बरको ट्यांकरचालक सुवास यादवलाई पनि स्थानीय युवाले कुटपिट गरी घाइते बनाएका छन् । यादवको स्थानीय स्वास्थ्यकेन्द्रमा उपचार भइरहेको छ ।

No comments: