News

Feb 13, 2009

म बालुवाटारभित्रै बलिदान दिन तयार छु - प्रचण्ड

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताका आवाजको विपक्षमा कसैले षडयन्त्र गरेमा आफू बालुवाटारभित्रै बलिदान दिन तयार रहेको बताएका छन् । 'दसौँ हजारको बलिदान र जनचाहनाअनुसार वर्तमान सरकारको नेतृत्व माओवादीले गरेको हो,' प्रचण्डले भने, 'कसैले स्वतन्त्रता, राष्ट्रियता र जनताका आवाजको विपक्षमा षड्यन्त्र गर्छ भने म बालुवाटारभित्रै बलिदान दिन तयार छु ।'जनमुक्ति सेना वैधानिक रूपमा छिट्टै राष्ट्रिय सेना बन्ने दाबी गर्दै प्रचण्डले जनमुक्ति सेनालाई माओवादी नेतृत्वमा नभई सेना समायोजन विशेष समितिको मातहतमा चल्न निर्देशनसमेत दिए । जनमुक्ति सेना राष्ट्र र जनताको सेना भएको दाबी गर्दै प्रचण्डले सेना समायोजन विशेष समिति गठन भएलगत्तै जनमुक्ति सेनाको नेतृत्व स्वतः सेना समायोजन समितिमा गएको बताए ।जनयुद्धको १४औँ वाषिर्कोत्सव तथा आठौँ जनमुक्ति सेना दिवसको बिहीबार नवलपरासीको कावासोतीस्थित परिवर्तन स्मृति बिग्रेड, हात्तीखोरमा उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले संविधान निर्माण र शान्तिप्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउन भूमिका खेल्नसमेत जनमुक्ति सेनालाई निर्देशन दिए । सेना समायोजन विशेष समितिका अध्यक्षसमेत रहेका प्रचण्डले भने, 'मुठ्ठीभरका सामन्तले देशमा फैलाउन खोजेको अराजकता अन्त्य गर्न र उनीहरूको दिवा स्वप्न पूरा हुन नदिन जनमुक्ति सेनाले विशेष भूमिका खेल्नुपर्छ ।' १० वर्षे जनयुद्ध र १९ दिने जनआन्दोलनको प्रतिफलस्वरूप गणतन्त्र स्थापना भएको उल्लेख गर्दै प्रचण्डले संघीय गणतन्त्र स्थापना गर्न जनमुक्ति सेनाले खेलेको भूमिकालाई कसैले कम आँक्न नहुने बताए ।माओवादीको काँधमा संविधान निर्माण गर्ने जिम्मेवारी आएको उल्लेख गर्दै प्रचण्डले सबै जातजाति, भाषा, संस्कृति, रहन, सहन, भौगोलिक, लिंग सबैको प्रतिनिधित्व गर्ने गरी तोकिएको समयमै संविधान निर्माण गरी छाड्ने दृढता पनि व्यक्त गरे । केही अराजक तत्त्वले संविधान निर्माणमा बाधा पुर्‍याउन छिटपुट आपराधिक घटना गराएको दाबी गर्दै उनले संविधान निर्माणको ऐतिहासिक अवसरलाई आफूले कुनै पनि हालतमा नचुकाउने बताए ।यसैबीच प्रचण्डले जनयुद्धको विकासले नै वर्तमान सरकारको नेतृत्व गर्ने जिम्मेवारी आफ्नो पार्टीले पाएको बताएका छन् । सशस्त्र जनयुद्ध सुरु गरेको चौधौँ वाषिर्की पुगेका दिन बिहीबार जारी विज्ञप्तिमा प्रचण्डले अब संघर्षमार्फत संघीय लोकतान्त्रिक राष्ट्रिय गणतन्त्र स्थापनामा दृढतापूर्वक अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

No comments: