News

Feb 15, 2009

प्रचण्ड छिट्टै चीन भ्रमणमा जाने सम्भावना

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड छिट्टै चीन भ्रमणमा जाने सम्भावना रहेको एकजना वरिष्ठ अधिकारीले बताएका छन्। केहि महिनाअघि बेइजिङ ओलम्पिक खेलको समापनका लागि चीन गएका प्रचण्डले आफ्ना चिनीयां समकक्षी वेन जियाबाओबाट चीन भ्रमणको ‌औपचारिक निम्तो पाइसकेका छन्। अहिले नेपालका परराष्ट्र सचिवको नेतृत्वमा चीन गएको टोलीले भ्रमणको मिति तय गर्ने सम्भावना रहेको छ। प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार हिराबहादुर थापाका अनुसार नेकपा एमालेको महाधिवेशन पर्यवेक्षणका लागि आएको चिनीयाँ कम्युनिष्ट पार्टीको प्रतिनिधिमण्डलले आइतबार प्रचण्डसँग भेट गरेको थियो। भेटमा सो प्रमण्डलका नेता ल्यु होङ साईले प्रचण्डको चीन आउने कार्यक्रमको विषयमा पनि चासो राखेका थिए। भेटमा उपस्थित सल्लाहकार थापाका अनुसार प्रधानमन्त्रीले आगामी भ्रमण चीनको आफ्नो “पहिलो राजनीतिक र औपचारिक भ्रमण हुने” र त्यसका लागि आफू निक्कै उत्सुक भएको बताएका थिए। थापाका अनुसार अहिले चीन भ्रमणमा गएको परराष्ट्रसचिवको नेतृत्वको टोलीले प्रधानमन्त्रीको भ्रमणको मिति र कार्यक्रमहरुको विषयमा छलफल गर्ने सम्भावना रहेको छ। परराष्ट्रसचिव ज्ञानचन्द्र आचार्यले नेतृत्व गरेको टोली नेपाल-चीन परामर्श बैठकमा भाग लिन बेइजिङ गएको हो। चिनीयां कम्युनिष्ट पार्टीको परराष्ट्र विभागको प्रमण्डलले नेपालमा तिब्बतीहरुका गतिविधिका सम्बन्धमा चिन्ता जाहेर गरेको थियो। त्यस्तो चिन्ताप्रति प्रधानमन्त्रीले चिनीयां पक्षलाई नेपाल ‘एकल चीन’ नीतिप्रति दृढ रहेको र नेपाली भूमीमा चीन विरोधी गतिविधि हुन नदिने पक्षमा आफू रहेको प्रष्ट पारेका थिए।
केही महिनाअघि प्रचण्ड प्रधानमन्त्री नियुक्त भएपछि भारत भ्रमणमा जाने परंपरालाई तोड्दै बेइजिङ ओलम्पिकको समापन समारोहमा भाग लिन चीन गएका थिए। त्यसपछि उनी भारत र संयुक्त राष्ट्र संघ पुगेका थिए। केहि समय अघि स्थगित भएको उनको नर्वे र फिनल्याण्डको भ्रमण पनि छिट्टै हुने तयारी भईरहेको सल्लाहकार थापाले बताएका छन्।

No comments: