News

Feb 15, 2009

दुई हजार ६५० कर्मचारीको सरुवा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सामान्य प्रशासन मन्त्रालयले माघ महिनाभरि करिब दुई हजार ६५० कर्मचारीको सरुवा गरेको छ । निजामती सेवा नियमावलीमा हरेक वर्षको माघ महिनाभित्र कर्मचारीलाई अन्तरमन्त्रालय सरुवा गर्नुपर्ने व्यवस्था छ । सरुवा हुनेमा स्वतः बढुवा पाएका कर्मचारीहरु पनि परेका छन् । यसरी सरुवा हुनेमा उपसचिवदेखि सहयोगीस्तरका कर्मचारीहरू रहेको मन्त्रालयका प्रवक्ता चन्द्र घिमिरेले जानकारी दिनुभयो । मन्त्रालयले माघ महिनाभित्र ६५ जना राजपत्राङ्कित द्वितीय श्रेणी -उपसचिव), ३२ जना उपसचिव -विशेष पद), २१५ जना राजपत्राङ्कित तृतीय श्रेणी -शाखा अधिकृत), ११० जना शाखा अधिकृत -विशेष पद), १३ जना तथ्याङ्क अधिकृत, छजना तथ्याङ्क अधिकृत -विशेष पद), दुईजना कम्प्युटर अधिकृत, छजना कम्प्युटर अधिकृत -विशेष पद), तीनजना प्राविधिक अधिकृत -उपसचिवस्तर) र दुईजना प्राविधिक अधिकृत -शाखा अधिकृतस्तर) को सरुवा गरेको जनाएको छ । निजामती सेवा ऐनको २४ -घ) १ बमोजिम बढुवा भएका कर्मचारीलाई विशेष पदको रूपमा राखिएको छ ।
यसैगरी करिब दुई हजार २०३ राजपत्र अनङ्कित कर्मचारीको पनि सरुवा गरिएको प्रवक्ता घिमिरेले जानकारी दिनुभयो । सरुवा हुनेहरूमा नायब सुब्बा ३३५, नायब सुब्बा -विशेष पद) ४१६, खरिदार ५६५, टाइपिस्ट र गणकसमेत २०२, कम्प्युटर अप्रेटर ७३ र कार्यालय सहयोगी तथा हल्का सवारी चालक ६१५ जनाको सरुवा गरिएको छ । स्वतः बढुवा पाएर सरुवा भएका कर्मचारीलाई कुन जिम्मेवारी दिइएको छ भन्नेबारेमा भने प्रस्ट पारिएको छैन । निजामती सेवा ऐनको २४ -घ) १ अनुसार बढुवा भएका कर्मचारीहरूले बढुवा भए पनि सोही पदमा रहेर काम गर्नुपर्ने व्यवस्था छ । यसरी बढुवा हुने कर्मचारीको सङ्ख्या १३ हजार १८१ रहेको छ । सरुवा गर्दा दुर्गम र सुगमको पनि ख्याल गरिएको मन्त्रालय स्रोतले जनाएको छ । केही समयअघि सामान्य प्रशासनमन्त्री पम्फा भुसालले दुर्गममा काम गरेका कर्मचारीलाई उनीहरूको इच्छा अनुसार सुगममा सरुवा गर्ने बताउनुभएको थियो । सो आधारमा दुर्गम भेगमा कार्यरत कर्मचारीहरूसाग निवेदन माग गरिएको थियो । प्रवक्ता घिमिरेले करिब दुई हजार कर्मचारीको निवेदन मन्त्रालयलाई प्राप्त भएको र त्यसमध्येका कर्मचारीहरूको पनि सरुवा गरिएको जानकारी दिनुभयो ।

No comments: