News

Feb 11, 2009

खैरो हेरोइन कारोबारका नाइके पक्राउ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भारतबाट खैरो हेरोइन ल्याएर नेपालका मुख्य सहरमा वितरण गर्दै आएका मुख्य वितरक र उनका सहयोगी पक्राउ परेका छन् । लागू औषध नियन्त्रण तथा कानुन कार्यान्वयन इकाइले खैरो हेरोइनको मुख्य कारोबारी गोपाल क्षेत्री र उनका सहयोगी रिट्ठेकुमार विष्टलाई पक्राउ गरेको हो । इकाइका अनुसार क्षेत्री वीरगन्जमा बसेर काठमाडौं, पोखरालगायतका मुख्य सहरमा हेरोइन सप्लाईमा सक्रिय थिए । इकाइ प्रमुख हेमन्त मल्लले डेढ वर्षअघि क्षेत्रीको बारेमा इकाइलाई जानकारी आएको बताए । उनले भने, 'डेढ वर्षदेखि निरन्तर फलो गर्दागर्दा बल्ल पक्राउ पर्‍यो ।'इकाइका अनुसार क्षेत्रीले नेपालको खैरो हेरोइनको बजारमा २० प्रतिशतको कारोबार गर्दै आएका थिए । उनी वीरगन्जमा बसेर भारतबाट खैरो हेरोइन नेपाल भित्र्याएर यहाँका मुख्य सहरहरूमा सप्लाई गर्ने गर्थे । काठमाडौं र पोखरामा उनको राम्रो पकड थियो । खैरो हेरोइनविरुद्ध चलाएका विभिन्न अप्रेसनमा पक्राउ परेका खुद्रा विक्रेताबाट क्षेत्रीको बारेमा प्रहरीले सूचना संकलन गरी खोजी तीव्र बनाएको थियो । मल्लका अनुसार १५ दिनदेखि निरन्तर क्षेत्रीको खोजी गर्दा आइतबार भारतबाट ल्याएको पाँच सय पाँच ग्राम खैरो हेरोइन कलंकीमा ड्रप गर्न आउनेक्रममा क्षेत्री सहयोगी विष्टसहित पक्राउ परे । खैरो हेरोइनको बढ्दो कारोबार रोक्न इकाइले अप्रेसन मोबाइल र अप्रेसन पुल जस्ता विशेष अप्रेसन सञ्चालन गर्दा समेत दुव्र्यसनी र खुद्रा व्यापारी मात्र पक्राउ परेका थिए । हेरोइनका मूल नाइके भने सधैं प्रहरीबाट उम्कँदै आएका थिए । मल्लका अनुसार पछिल्लो समय पक्राउ परेका हेरोइनका कारोबारीमा क्षेत्री सबैभन्दा ठूला हुन् । क्षेत्रीको पक्राउपछि उनको र्‍याकेट भत्किएको उनले बताए । इकाइले पक्राउ परेका दुवैजनामाथि लागू औषध ऐनअनुसार कारबाहीको प्रक्रिया सुरु गरेको छ ।

No comments: