News

Feb 21, 2009

पियनका भरमा उपस्वास्थ्य चौकी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सरकारले गाउँगाउँमा स्वास्थ्य संस्था त खोलेको छ, तर त्यहाँ स्वास्थ्यकर्मी छैनन् । सल्यानको एक उपस्वास्थ चौकी विगत दुई वर्षदेखि पियनका भरमा चलेको छ । दरबन्दीअनुसारका स्वास्थ्यकर्मी अनुपस्थित भएपछि सल्यानको माल्नेटा उपस्वास्थ्य चौकी पियन जितेन्द्र हमालका भरमा छ । चौकीमा इन्चार्जका रूपमा अहेव, अनमि, मातृशिशु कार्यकर्ता, ग्रामीण स्वास्थ्य कार्यकर्ता र एक पियनको दरबन्दी छ । तर, पियनबाहेक दुई वर्षसम्म चौकीमा अरूले पाइला टेकेका छैनन् ।पियन हमालले दैनिक बिहान चौकीको ढोका खोल्छन् र आएका बिरामीलाई औषधोपचार गर्छन् । उनीसँग स्वास्थ्य सेवामा काम गरेको १३ वर्षको अनुभवबाहेक उपचार सम्बन्धी अर्को कुनै ज्ञान छैन । तर, उनी भन्छन्, 'बिरामी जाँच्न नजाने पनि सामन्य औषधी भने दिने गरेको छु ।'बिरामी जाँच्ने मात्र नभएर जिल्लास्तरीय गोष्ठीमा समेत इन्चार्जका रूपमा पियन हमालले नै प्रतिनिधित्व गर्ने गरेका छन् । उनी आफैं भन्छन्, 'बिरामी जाँच्नेदेखि जिल्लामा हुने गोष्ठीसम्ममा मै जाने गरेको छु ।' उनी अन्यत्र गएका वेला भने उपस्वास्थ्य चौकी बन्द हुने गरेको छ । सो चौकीमा स्वास्थ्यकर्मी नहुँदा सामान्य उपचारका लागि पनि टाढा जानुपर्ने समस्या रहेको स्थानीय बासिन्दा बताउँछन् । स्थानीय मन्जु दाहालले भनिन्, 'स्थानीयस्तरमा उपस्वास्थ्य चौकी छ, तर स्वास्थ्यकर्मी छैनन् । स्वास्थ्यकर्मी नहुँदा गाउँलेहरू करिब पाँच घन्टा हिँडेर जिल्ला अस्पताल धाउन बाध्य छन् ।' सामान्य उपचारबाहेक स्थानीय बालबालिकालाई नियमित रूपमा लगाउनुपर्ने खोप कार्यक्रम पनि हुन सकेको छैन । मन्जुका अनुसार स्वास्थ्यकर्मी नहुँदा स्थानीय बालबालिका पोलियो, दादुराजस्ता खोपबाट वञ्चित भएका छन् ।उपस्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी पठाउन गाउँलेले जिल्ला जनस्वास्थ्य कार्यालयलाई पटक-पटक अनुरोध गर्दै आएका छन् । निवेदन दिँदा पनि जनस्वास्थ्यले बेवास्ता गरेको स्थानीय दुर्गाकुमारी पौडेलले बताइन् ।

No comments: