News

Feb 28, 2009

दरबार हत्याकाण्ड छानबिन गर्न सत्तारुढ पाँच दल सहमत

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नारायणहिटी दरबार हत्याकाण्ड छानबिन गर्न सत्तारुढ पाँच दल सहमत भएका छन् । सरकार संचालनका लागि गठित संयन्त्रको शनिबार बसेको बैठकमा पाँच दल झण्डै आठ बर्ष अघि भएको उक्त हत्याकाण्डको छानबिनका लागि उच्चस्तरीय समिति बनाउन सहमत भएका हुन् । बैठकमा सहभागी एकीकृत नेकपा माओवादीका बरिष्ठ नेता नारायणकाजी श्रेष्ठले छानबिन समिति गठन गर्न छुट्टै सुझाव समिति बनाउन दलहरू सहमत भएको जानकारी दिए ।गणतन्त्र घोषणापछि नारायणहिटी दरबार हत्याकाण्डको छानबिन गर्न दलहरूबीच पहिलो पटक छलफल भएको हो । प्रधानमन्त्री एवं एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले दरबार हत्याकाण्डको छानबिन गरि दोषीलाई जनता समक्ष सार्वजनिक गर्ने बताउदै आएका छन् । २०५८ साल जेठ १९ गते भएको उक्त हत्याकाण्डमा तत्कालीन राजा वीरेन्द्र सहित उनको परिवारको मृत्यु भएको थियो । त्यस्तै पाँच दलीय संयन्त्रको बैठकमा सेना भर्ती विवाद, स्थानीय निकाय गठन, विभिन्न आयोग गठन गर्ने लगायतका बिषयमा छलफल भएको थियो । सेना भर्तीबारे अदालतमा चलिरहेको मुद्धाको छिनोफानो भएपछि त्यसबारे ठोस निष्कर्ष अघि सार्न तथा संविधानमा उल्लेख भए अनुसार बाँकी रहेका आयोग गठनका लागि आज साँझसम्म प्रधानमन्त्री कार्यालयमा आफ्नो तर्फबाट प्रतिनिधिको नाम पठाउन पनि दलहरू सहमत भएका छन् । समिति तथा आयोग गठनका लागि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग छलफल गर्न दलका नेताले प्रधानमन्त्रीलाई आग्रह गरेको बुझिएको छ ।

No comments: