News

Feb 24, 2009

जेल परेका लेखक ह्यारीलाई थाई नरेशले माफी दिए

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
थाइल्यान्डको राजपरिवारको अपमान गरेको आरोपमा जेल परेका अस्ट्रेलियन लेखक ह्यारी निकोलाइडिजलाई अन्ततः थाई नरेशले माफी दिएका छन् । अब उनी जेलमुक्त भएका छन् । थाइल्यान्ड संवैधानिक राजतन्त्र भए पनि त्यहाँ राजपरिवारको विरोधमा चुक्कसम्म बोल्न नपाइने कडा कानुन छ । निकोलाइडिजलाई जनवरीमा तीन वर्षको जेल सजाय तोकिएको थियो । उनी कुनै चर्चित लेखक थिएनन् । बरु जेल परेपछि रातारात चर्चित भए । सन् २००५ मा उनले लेखेको उपन्यास 'भेरिसिमिलिट्युड' मात्र पचास प्रति निक्लिएको थियो । प्रकाशक उनी स्वयं थिए । पचास प्रतिमा जम्मा सात प्रति मात्रै बिक्री भएका थिए । 'भेरिसिमिलिट्युड' उपन्यासमा नामविहीन एक राजकुमारको प्रसंग उल्लेख छ । यसले राजपरिवारको मानमर्दन गरेको आरोप बैंकक अदालतले लगाएको थियो । निकोलाइडेजले मेलवर्नमा उनको परिवारसँग भेटेका छन् । अस्पतालमा भर्ना भएकी आफ्नी आमालाई भेट्न उनी आतुर थिए । मेलवर्न विमानस्थलमा ओर्लिनेबित्तिकै उनले अस्ट्रेलियाली जनताप्रति आभार व्यक्त गरे । अस्ट्रेलिया सरकारले थाई राजपरिवारसँग उनलाई छुटाउन पहल गरेको थियो । हतकडीसहित कैदीको पोसाकमा उनका तस्बिरहरू टेलिभिजनबाट देखाउँदा अस्ट्रेलियाली जनताहरू चकित र दुःखी भएका थिए । उनका वकिल मार्क डिनका अनुसार उनी जेलमुक्त हुनु थाई र अस्ट्रेलियाली सरकारबीचको आपसी सहयोग र समझदारीको परिणाम हो ।

No comments: