News

Feb 26, 2009

सैन्य दस्तासहित अर्को माओवादी पार्टीको जन्म

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सैन्य दस्तासहित अर्को माओवादी पार्टीको जन्म भएको छ । यो पार्टीले मुख्य उद्देश्य सशस्त्र 'जनयुद्ध' विचारको रक्षा गर्ने रहेको जनाएको छ । गतसाता रौतहटमा भएको रेभ्युलुसनरी लेफ्ट विङको राष्ट्रिय भेलाले मणि थापा 'अनुकूल' को संयोजकत्वमा 'नेकपा माओवादी' को गठन गरेको हो । उनी माओवादीका पूर्वनेता हुन् । भूमिगत रूपमा गतिविधि गर्न गठन भएको उक्त पार्टीको केन्द्रीय संयोजन समितिमा १५ सदस्य छन् । नवगठित माओवादीले जनसेनाका पूर्वब्रिगेड कमान्डर लोकमान घर्तीको संयोजकत्वमा सैन्यदस्ता 'नेसनल रेड गार्ड' बनाएको छ । गार्डमा माओवादीका पूर्वलडाकु पनि सदस्य छन् । नवगठित पार्टीको कामकारबाही भूमिगत रहने अध्यक्ष थापाले बिहीबार कान्तिपुरलाई बताए । 'पार्टीले भूमिगत रही कामकारबाही गर्नेछ,' उनले भने, 'निर्वाचन आयोगमा दर्ता गर्ने सोच बनाएका छैनौं ।' उनले सैन्य संगठन 'रेड गार्ड' अर्थात् लाल रक्षकले देशभर युवालाई तालिम दिने जानकारी दिए । 'पार्टी र नेताको रक्षाका लागि रेडगार्डले काम गर्नेछ,' थापाले भने, 'हाल निशस्त्र रूपमा तामिल गर्नेछन् ।' हाल उक्त संगठन राजनीतिक चरित्रको हुने उनले जानकारी दिए । 'राष्ट्रियता खतरा आयो भने रेडगार्ड लड्नेछ,' उनले भने । पूर्वलडाकुसँग केही हतियारसमेत रहेको स्रोतको दाबी छ । 'हतियार आवश्यक पर्‍यो भने जुटाउन सकिन्छ,' एक नेताले भने । केन्द्रीय समितिमा झापाको 'जनयुद्ध रक्षा फन्ड,' गण्डकीको 'स्वतन्त्र दलित मुक्ति मोर्चा,' पश्चिम तराईका जिल्ला बाँके, बर्दिया, दाङको थारू मोर्चा र नवलपरासी, रूपन्देहीको 'क्रान्तिकारी मधेसी मुक्ति मोर्चा,' दोलखा रामेछापलगायतका जिल्लाको 'ताम्सालिङ मुक्ति संगठन' र पूर्वी पहाडी जिल्ला भोजपुर, खोटाङ, ओखलढुंगालगायतमा 'किराँत वर्कर्स पार्टी' का नेताहरू छन् । यी संगठनले 'सशस्त्र जनयुद्ध' को विचारको रक्षा गर्ने बताउँदै आएका छन् । गत साता देशभरका ६० जिल्लाका करिब साढे तीन सय प्रतिनिधिबीच नव माओवादीका संयोजक थापाले एकीकृत माओवादीको नीतिविरुद्ध संघर्ष गर्ने बताएका थिए । 'एकीकृत माओवादीमा आएको विचलन कुनै प्राविधिक नभएर दार्शनिक र सैद्धान्तिक हो,' उनले भने, 'त्यसका विरुद्ध संघर्ष गर्दै नेकपा (माओवादी) को क्रान्तिकारी विरासत संयोजन गरी अघि बढ्नुपर्छ ।' उसले एकीकृत माओवादी 'दक्षिणपन्थी संशोधनवाद र साम्राज्यवाद परस्त' भएको दाबी गरेको छ । थापाले छिट्टै मात्रिका यादवसँग पार्टी एकताका लागि पहल गर्ने बताए । यादवले फागुनको पहिलो साता पत्रकार सम्मेलन गरी माओवादीको पुनर्गठन गर्ने घोषणा गरेका थिए । 'मात्रिकाजीहरूको भेलापछि पार्टी एकताको कुरा अघि बढ्छ,' थापाले भने । गत साता यादवले पनि दुवैबीच पार्टी एकता हुने सम्भावना रहेको जनाए । त्यस्तै किराँत वर्कर्स पार्टीका अध्यक्ष शंकर राई आङगामीको संयोजकत्वमा 'संयुक्त राष्ट्रिय गणतान्त्रिक महासंघ' पनि गठन गरेको छ । यो संगठनलाई जाति र क्षेत्रीय मोर्चा बनाउने उक्त पार्टीले जनाएको छ । यसअघि कृष्ण अधिकारीको संयोजकत्वमा २३ सदस्यीय केन्द्रीय विङ गठन भएको थियो ।

No comments: