News

Feb 21, 2009

बाबुराम भट्टराईलाई उपप्रधानमन्त्री नारायणकाजीलाई उपनेता बनाउने निर्णय

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
एकीकृत नेकपा माओवादीले संसदीय दलको उपनेतामा नारायणकाजी श्रेष्ठलाई चयन गरेको छ भने अर्थमन्त्री बाबुराम भट्टराईलाई उप प्रधानमन्त्री बनाउने निर्णय गरेको छ ।शनिबार बसेको सचिवालय बैठकले प्रधानमन्त्री कार्यालय, केन्द्रीय कार्यालय व्यवस्थापन गर्न समितिहरु बनाएको छ। सरकार परिचालन गर्नका लागि भट्टराईको नेतृत्वमा माओवादीका सबै मन्त्री सम्मिलित समिति पनि बनाएको छ। समितिमा टोपबहादुर रायमाझी, नेत्रविक्रम चन्द, वर्षमान पुन, लिलामणि पोख्रेल र शक्तिबहादुर बस्नेत छन्।केन्द्रीय कार्यालय व्यवस्थापनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल, मोहन वैद्य, दिनानाथ शर्मा र कार्यालय सचिव नारायणप्रसाद दाहाल छन्।सचिवालय बैठकले मधेसको आन्तरिक अवस्थाका सम्बन्धमा प्रतिवेदन पेश गर्न लिलामणि पोख्रेलको संयोजकत्वमा पोष्टबहादुर बोगटी, वर्षमान पुन, रामरिजन यादव र थप एक जना राख्ने गरी समिति बनाएको छ। समितिलाई प्रतिवेदन बुझाउन तीन महिनाको समय दिइएको प्रवक्ता दिननाथ शर्माले जानकारी दिए। बैठकले प्रवक्ता शर्माको संयोजकमा १३ सदस्यीय प्रचार प्रसार विभागको गठन पनि गरेको छ। आगामी २८ चैतमा हुने उपचुनावको तयारी र उम्मेदवार चयनका लागि सत्तारुढ दलहरुसँग छलफल गर्ने निर्णय पनि माओवादीले गरेको छ। राष्ट्रपति भएपछि डा रामवरण यादवले छाडेको धनुषा ५ र दुई क्षेत्रबाट जित्‍ने संविधानसभा सदस्यहरुले एकएक ठाउँ छाडेपछि रिक्त रहेका ६ स्थानका लागि उपचुनाव हुन थालेको हो।काठमाडौं १० र रोल्पा २ बाट जितेका प्रधानमन्त्री पुष्पकमल दाहालले रोल्पा २ छाडेका छन्। यसैगरी राष्ट्रपति डा।रामवरण यादवले राजीनामा दिएपछि धनुषामा चुनाव हुनेछ। पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले डढेलधुरा र कन्चनपुरबाट जितेका थिए। उनले कन्चनपुर ४ छाडेका छन्। कानुन तथा संविधानसभामन्त्री देव गुरुङले मनाङ र कास्कीबाट जितेका थिए। उनले कास्की १ छाडेका छन्। यसैगरी परराष्ट्रमन्त्री एवं फोरम अध्यक्ष उपेन्द्र यादवले सुनसरी र मोरङ ५ बाट जितेका थिए। उनले मोरङ ५ छाडेका छन्। यसैगरी भौतिक योजनामन्त्री विजयकुमार गच्छेदारले सुनसरी ३ र मोरङ ७ बाट चुनिएका थिए। उनले मोरङ ७ छाडेका छन् । रिक्त ६ स्थानमा आगामी चैत २८ मा निर्वाचन हुने भएको छ ।

No comments: