News

Feb 25, 2009

राज्य पुनःसंरचनासम्बन्धी विभिन्न संघसंस्थाको होड

लिम्वूवान डट व्लगस्पोट डटकम,धनकुटा/राजेश राई
नयाँ संविधान निर्माण-प्रक्रिया चलिरहेका वेला धनकुटामा राज्य पुनःसंरचनासम्बन्धी कार्यक्रम गर्न विभिन्न संघसंस्थाको होड चलेको छ । ती संस्थाले दातृ निकायले दिएको सहयोगबाट अन्तरक्रिया, छलफल, गोष्ठी गर्दै आएका छन् । धनकुटामा सक्रिय गैरसरकारी संघसंस्थाले दातृ निकायबाट आर्थिक सहयोग लिएर राज्य पुनःसंरचनाका विषयमा दैनिकजसो कार्यक्रम सञ्चालन गरिरहेका छन् । सदरमुकाममा केही समययता हरेक दिन राज्य पुनःसंरचनासम्बन्धी कार्यक्रम हुने गरेको अधिवक्ता एवं आदिवासी जनजाति महासंघका सल्लाहकार तेजनारायणसिंह राईले बताए । उनले पछिल्लो समयमा एक सातामा दस-बाह्रवटा जातीय संघीयता र राज्य पुनःसंरचनासम्बन्धी कार्यक्रममा जाने गरेको पनि जानकारी दिए । गत शनिबारदेखि सोमबारसम्म तीन दिनमा मात्रै धनकुटामा राज्य पुनःसंरचनासम्बन्धी सातवटा अन्तरक्रिया कार्यक्रम भए । शनिबार प्रजातान्त्रिक विचार समाज धनकुटाले 'राज्य पुनःसंरचनाका आधार' विषयमा कार्यक्रम गरेको थियो । आइतबार किरात राई यायोक्खा र सामुदायिक वन उपोभोक्ता महासंघ धनकुटाले बेग्ला-बेग्लै स्थानमा सोही प्रकृतिको अन्तरक्रिया आयोजना गरेका थिए । शैलुङ सामुदायिक सञ्चारकेन्द्र र जनमुक्ति पार्टीले पनि सोमबार फरक-फरक स्थानमा कार्यक्रम गरे । राज्य पुनःसंरचनासम्बन्धी फागुन महिनाको १२ गतेसम्म मात्रै धनकुटामा १५ वटा कार्यक्रम भएका छन् ।संविधान निर्माण-प्रक्रियामा रहेका वेला यस्ता कार्यक्रम सकारात्मक देखिन्छन् । तर, दातृ निकायको सहयोग ल्याएर हरेक दिन गरिएका यस्ता कार्यक्रमको उपलब्धि शून्य रहेको सबै ठाउँमा सहभागी हुँदै आएका स्थानीय सन्तोष रुचालले बताए । राज्य पुनःसंरचनाका कार्यक्रम विषयवस्तुमा गहन छलफल गर्न नभई दातृ निकायबाट लिइएको रकम खर्च गर्ने माध्यम मात्र बनेको अर्का सहभागी बलराम दाहालले बताए ।

No comments: