News

Feb 28, 2009

बंगलादेशी सीमा सुरक्षाबलको ३३ घन्टे विद्रोह

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
बंगलादेशी सीमा सुरक्षाबल (बंगलादेश राइफल्स्) को ३३ घन्टे विद्रोहले सरकार र सेनालाई जगैदेखि हल्लाइदिएको छ । आममाफीको घोषणा र भयानक बल-प्रयोगको धम्कीद्वारा प्रधानमन्त्री शेख हसिनाको सरकारले विद्रोहीलाई आत्मसमर्पण गर्न लागाएको छ । सेना र पुलिसले आफ्ना ब्यारेक छोड्ने दुई सयभन्दा बिडिआर जवानलाई पक्रिसकेका छन् । सैनिक अधिकृतहरूको हत्यामा संलग्नलाई कानुनी कठघरामा ल्याउने घोषणा गरेर प्रधानमन्त्री हसिनाले आममाफीको प्रतिज्ञा फिर्ता लिइसकेकी छिन् । शुक्रबार उनले भनिन्, 'उनीहरूले जघन्य अपराध गरेका छन् । यस्ता गतिविधिलाई नजरअन्दाज गर्न सकिँदैन ।' बंगलादेश राइफल्स् -बिडिआर) अधिकृतहरूका शव धमाधम भेटिँदै छन् । बंगलादेश राइफल्स्का कमान्डर मेजर जनरल सकिल अहमदको पनि हत्या भएको थियो । अझै दर्जनौं अधिकृत बेपत्ता छन् । केही विश्लेषकका अनुसार हत्या गरिएका अधिकृतमाथि सम्पूर्ण ध्यान केन्दि्रत गरेर मिडिया तथा सरकार राजनीतिक बदलाको वातावरण सिर्जना गरिरहेका छन् । बंगलादेशी सुरक्षाफौज यातना र गैरकानुनी हत्याका लागि बद्नाम छ । बुधबार बिहानदेखि विद्रोह सुरु भएको थियो । आफ्ना अवस्था र सैनिक कमान्डरहरूको रबैयादेखि असन्तुष्ट दुई हजार बिडिआर जवानले ढाकामा रहेका आफ्ना ब्यारेकहरू छोडेर एक भवनमा घुसे । त्यहाँ बिडिआरका उच्च अधिकारीहरूको भेला भइरहेको थियो । मंगलबार हसिना बिडिआर हेडक्वार्टरमा उपस्थित थिइन् । बिडिआरका उच्च अधिकारीहरू प्रधानमन्त्रीलाई जवानहरूको पीरमर्का तथा दुःखकष्टबारेमा जानकारी गराउन असफल रहेका कारण नै यो विद्रोह भएको थियो । विद्रोहीले करिब सयजना उच्च अधिकृतलाई बन्धक बनाएका थिए । बन्धकहरूमा मेजर जनरल अहमद पनि थिए । उनीहरूले नजिकका सडकहरू अबरुद्ध पारे । र, आफ्ना मागहरू ज्ाारी गरे । त्यसपछि यो विद्रोह डढेलो फैलेझैं फैलियो । चटगाउँ, रंगपुर, चपाइनवाबगन्ज, सत्किरा, जेश्वरीलगायत देशभरिका बिडिआर ब्यारेकहरूले विद्रोहमा भाग लिए । विद्रोह न पूर्वनियोजित थियो, न यो सरकार ढाल्ने प्रयास नै थियो । बरु, यो बिडिआर जवानहरूको आफ्नो स्थितिप्रतिको अव्यक्त असन्तुष्टि र सुरक्षाबलभित्र बिडिआरको दोस्रो दर्जाको स्थान हुनुको परिणाम थियो । बिडिआर मूलतः सीमा सुरक्ष्ााका लागि जिम्मेवार ६७ हजारको फौज हो र यो सेनाको पूरक अंगका रूपमा रहेको छ । बिडिआरमाथि सेनाको हाइकमान्डको पूर्ण नियन्त्रण रहोस् भन्ने उद्देश्यले यसमा सेनाका अधिकृतहरूलाई नै मुख्य मुख्य पदमा राखिन्छन् । तलव वृद्धि, आकर्षक भत्ता र बिडिआरबाट नै अधिकृतहरूको नियुक्ति उनीहरूका माग थिए । सेनाबाट नभई बिडिआरबाट नै अधिकृतहरूको नियुक्ति होस् र ती अधिकृतहरूको गृह-मन्त्रालयसँग सोझै सम्पर्क गर्न पाउने अधिकार होस् भन्ने माग नै उनीहरूको प्रमुख माग थियो । आकर्षक तलव सुुविधा भएको संयुक्त राष्ट्र संघको शान्ति सेनामा संलग्न हुन पाउनुपर्ने पनि उनीहरूको माग थियो । बिडिआर जवानको मासिक तलब केवल ७० डलर छ । रासनबापत उनीहरूले चामल, गहुँ र चिनी पाउँछन् । एटिएन टिभीलाई दिएको अन्तर्वार्तामा एक बिडिआर जवानले भने, 'सबैलाई थाहा छ, हामी कति दयनीय अवस्थामा बाँचिरहेका छौँ । हामी स्वतन्त्रतापूर्वक काम गर्न पाउँदैनौँ । हाम्रो आफ्नै विभाग छैन । हामी सरकारलाई बताउन चाहन्छौँ कि हामी स्वतन्त्रता चाहन्छौँ ।' बिडिआर जवानहरूले तीन महिनाको मात्रै रासन पाउँछन् । यता सेनाका जवानले भने बाह्रै महिना रासन तथा अन्य सुविधा पाउँछन् । उनीहरू यो भेदभावको अन्त्य चाहन्थे । सेनाका अधिकृत उनीहरूलाई अपमानजनक व्यवहार गर्छन् र शारीरिक यातना पनि दिन्छन् । सरकारले सेनालाई तत्काल यो विद्रोह दबाउन आदेश नदिनुको यौटा कारण विद्रोहीहरूले जनताबाट समर्थन प्राप्त गर्नु थियो । एसोसिएट प्रेसले सामान्य नागरिकले विद्रोहीको हौसला बढाइरहेका तस्बिरहरू प्रकाशन गरेको थियो । बंगलादेशमा विस्फोट भएको यो विद्रोहले यौटै संकेत गरेको छ । त्यो हो- श्रमजीवी मानिस जब आफ्नो जीवनको अवस्था असह्य देख्छन्, उनीहरूको असन्तुष्टि बढ्दै जान्छ, र एक ठाउँमा पुगेर विस्फोट हुन्छ ।

No comments: