News

Feb 16, 2009

नेपालको भूमि भारतले एक इन्च पनि मिच्न नपाउने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
परराष्ट्रमन्त्री एवं मधेसी जनअधिकार फोरम अध्यक्ष उपेन्द्र यादवले नेपालको भूमि भारतले एक इन्च पनि मिच्न नपाउने बताएका छन् ।नेपाल पत्रकार महासंघले आइतबार घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री यादवले नेपाल र भारतबीच खुला सीमा भए पनि ९८ प्रतिशत सीमा विवाद मिलिसकेको दाबीसमेत गरे । सुस्ता र दार्चुलाबाहेक अन्य ठाउँमा सीमा विवाद नरहेको उनको भनाइ थियो ।परराष्ट्रमन्त्री यादवले कांग्रेसले प्रतिपक्षमा बसेर बखेडा झिक्ने काम मात्र गरेको आरोप लगाए । 'कांग्रेस सत्ताबाहिर पानीविनाको माछोजस्तो भएको छ,' उनले भने, 'कांग्रेसको अडानले नयाँ नेपाल बनाउन समस्या जन्माएको छ ।' सहमतिको विकल्प नभएको बताउँदै उनले कांग्रेसले अडान लिएर संविधान निर्माणमा ढिलाइ भइरहेको आरोप लगाए ।मधेस र तराई भनेर थारू समुदायलाई उकास्ने काम भइरहेको दाबी गर्दै नेता यादवले पहाडमा पहिरो जाँदा र हिमालमा खाद्यान्न संकट पर्दा मधेस रुने बताए । उनले दुई वर्षसम्म सबै दललाई एकसाथ हिँड्न आग्रह गरे । यादवले भने, 'दुई वर्षपछि आपसमा जनताको मत जित्न भिडौंला, अहिले सहमतिमा नयाँ संविधान बनाऔं ।'संघीयताको विपक्षमा जानेलाई प्रतिगामीको संज्ञा दिँदै उनले भने, 'संघीयता देश विखण्डन गर्न होइन, समुन्नत नेपाल निर्माण गर्नका लागि हो ।'शिक्षामन्त्री रेणुकुमारी यादवले शिक्षा ऐन ०२८ नयाँ नेपालको बाधक भएको बताइन् । उनले अध्यादेश ल्याएर सबैलाई अनिवार्य शिक्षाको व्यवस्था गर्न सरकार लागिपरेको समेत जानकारी दिइन् । उनले १० हजार शिक्षक दरबन्दी थप गर्ने तयारी भइरहेको जानकारी दिँदै नेपालमा ६० हजार शिक्षकाको आवश्यक भएको बताइन् ।

No comments: