News

Feb 15, 2009

मातृकाप्रसाद यादवलाई एकीकृत माओवादीले निष्कासन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पार्टी पुनर्गठनको घोषणा गरेका नेता मातृकाप्रसाद यादवलाई एकीकृत माओवादीले साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ । माओवादीको शनिबार बसेको केन्द्रीय सचिवालय बैठकले नेता यादवको कदमलाई अनुशासनहीन र अराजकतावादी विचलन भन्दै पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको हो ।'मात्रृका यादवको बारेमा पार्टी सुरुदेखि नै क्लियर थियो, उनका गतिविधिसँग विगतदेखि नै सम्झौता गर्दै आएका थियौं,' माओवादी प्रवक्ता दीनानाथ शर्माले नयाँ पत्रिकासँग भने, 'उनी सच्चिएनन्, र अन्ततः कारबाही गर्न बाध्य भयौं ।' शर्माका अनुसार नेता यादवलाई सबै जिम्मेवारीबाट निष्कासन गरिएको छ । नेता यादव एकीकृत माओवादीका पोलिटब्युरो सदस्य थिए । तर एकताकेन्द्र मसालसँग एकीकरण गरेपछि एकीकृत माओवादीप्रति आलोचक बन्दै आएका उनलाई पार्टीले विभागीय एवं सांगठनिक अन्य जिम्मेवारी भने दिएको थिएन । माओवादी पुनर्गठनमा नेता यादवलाई समर्थन दिएका केन्द्रीय सल्लाहकार योगेन्द्र साहसहितका नेताकार्यकर्ताबारे भने माओवादीले निर्णय गरेको छैन । एकीकृत माओवादीले यादवको अनुपस्थितिले पार्टीलाई कुनै पनि असर नपर्ने दाबी पनि गरेको छ । प्रवक्ता शर्माले यादवलाई नदीको फोहोर भएको आरोप लगाए । 'नदीमा फोहोर जमेका हुन्छन्, शालिग्राम पनि हुन्छन्, फोहोरहरू बढारिन्छन्,' शर्माले भने । एकीकृत माओवादीले नेता यादवलाई आफ्नो पछिल्लो कदम र भनाइप्रति सार्वजनिक आत्मालोचना गरेर र्फकन चाहे पुनर्विचार गर्न सक्ने विकल्प पनि दिएको प्रवक्ता शर्माले बताए । संविधानसभा सदस्य नरहने गरी माओवादीबाट निष्कासित भएका नेता यादवले भने एकीकृत माओवादीसँग आफ्नो कुनै सम्बन्ध नरहेको बताउँदै कारबाहीको औचित्य नभएको बताए । 'म त्यो पार्टीमा छँदै छैन, आफैंले पार्टीमा राख्ने, आफैं कारबाही गर्ने काम भएको छ । योभन्दा हाँसउठ्दो केही हुन्छ ?,' यादवले नयाँ पत्रिकासँग भने । आफूले क्रान्तिको खोजी गरिरहेको बताउँदै नेता यादवले भने, 'क्रान्ति खोज्ने मान्छेलाई यस्तै आरोप लागिरहन्छ । तर, को के हो, जनताले उचित समयमा फैसला दिनेछन् ।' उनले आफू एकीकृत माओवादीमा र्फकने कुनै सम्भावना नरहेकोसमेत बताए । यादवले एकीकृत माओवादी संशोधनवादी भएको आरोप लगाउँदै २९ माघमा माओवादीलाई पुनर्गठन गर्ने घोषणा गरेका थिए ।

No comments: