News

Feb 20, 2009

निर्वाचनबाटै एमालेको भावी नेतृत्व चयन हुने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
निर्वाचनबाटै एमालेको भावी नेतृत्व चयन हुने सम्भावना बढेपछि अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने तयारीमा जुटेका झलनाथ खनाल र केपी ओली आ-आफ्नो प्यानल निर्माणमा लागेका छन्। बुटवलमा जारी नेकपा एमालेको आठौं महाधिवेशन स्थलमा भावी नेतृत्व चयनका लागि चुनावी माहोल देखिन थालेको छ । नेतृत्व चयन निर्वाचनबाटै गर्ने औपचारिक टुंगो नलागिसकेको भएपनि सहमतिको सम्भावना न्यून बन्दै गएपछि अध्यक्षका सम्भावित उम्मेदवार झलनाथ खनाल र केपी शर्मा ओली पक्षधरहरुले कार्यकर्ता भेटघाट तीब्र पारेका छन् ।सहमतिबाट नेतृत्व चयन गर्न गरिएको प्रयास निष्कर्शमा नपुगेपछि अध्यक्षका एकजना दाबेदार पूर्व महासचिव माधवकुमार नेपालले चुनावी प्रतिस्पर्धामा नउत्रने मनस्थिति बनाएपछि खनाल र ओलीबीच अध्यक्षमा प्रतिस्पर्धा हुने स्थिति देखिएको हो । निर्वाचन हुने भएपछि ओलीलाई नेपालले सघाउने भएको बताइन्छ ।चुनावी प्रतिस्पर्धाका लागि खनाल पक्षले आफ्नो प्यानल निर्माण गरिसकेको छ । जस अनुसार अध्यक्षमा खनाल, उपाध्यक्षमा वामदेव गौतम, महासचिवमा अमृत बोहरा र सचिबमा सुरेन्द्र पाण्डेको नाम तय भएको छ । ओली पक्षधरले भने प्यानल बनाइ नसकेको भएपनि ९ फागुन साँझसम्म सम्भावित प्यानलको खाका तयार हुने एक नेताले बताए ।यद्यपि ओलीले अझै सहमतिको सम्भावना जीवितै रहेको प्रतिक्रिया दिएका छन् । "सहमतिको प्रयास अघि बढेको छ, आज साँझ पनि हामी छलफल गर्र्छौं" उनले महाधिवेशनस्थलमा संवाददाताहरुसित भने। उनले लामो समय पार्टी सञ्चालनको अनुभव सगाँलेका पूर्व महासचिव नेपालको अभिभाकत्व हुनुपर्नेमा पनि जोड दिए तर त्यो अभिभावकत्व कस्तो हो भन्ने चाहिँ खुलाउन चाहेनन् । महाधिवेशनको बन्दसत्रमा राजनीतिक प्रतिवेदन र विधान संशोधनमाथिको समूहगत छलफलको निष्कर्श प्रस्तुत गर्ने काम भर्खरै सकिएको छ । केही नेताहरुले बोलेपछि निवर्तमान महासचिब खनालले छलफलमा उठेका प्रश्नको जवाफ दिने र त्यसपछि संशोधनसहित प्रतिवेदन र विधान पारित हुने कार्यक्रम छ । विधान पारित भएपछि निर्वाचन प्रक्रिया शुरु हुनेछ ।

No comments: