News

Feb 13, 2009

एमालेका लागि चन्दा लिँदालिँदै दीपक मनाङ्गे पक्राउ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
डिल्लीबजार कारागारबाट रिहा भएलगत्तै बेपत्ता बनेका उपत्यकाका चर्चित आपराधिक डन दीपक मनाङ्गे सत्ताधारी दल एमालेको आसन्न महाधिवेशनका लागि चन्दा उठाउन सक्रिय रहेको अवस्थामा पक्राउ परेका छन् ।ठमेलको होटल वैशालीअगाडि रहेको स्विटडि्रमबाट उनी बिहीबार साढे तीन बजे पक्राउ परेका हुन् । सार्वजनिक अपराधमा दोषी ठहर भएका मनाङ्गे डिल्लीबजार कारागारमा बन्दी रहँदा सर्वोच्च अदालतको आदेशमा रिहा भएलगत्तै पाँच महिनादेखि भूमिगत थिए । महानगरीय प्रहरी अपराध महाशाखाको एन्टिग्याङस्टार टिमले विशेष सूचनाको आधारमा मनाङ्गेलाई पक्राउ गरेको हो । उनलाई पक्राउ गर्न टिमका प्रमुख प्रहरी निरीक्षक सोमेन्द्र राठौर स्विटडि्रम पुगेका थिए । पक्राउ पर्दा उनीबाट एमालेको आठौं महाधिवेशनका लागि आर्थिक सहयोग गर्न तयार पारेको रसिद प्याड फेला पारेको महाशाखाको उच्चस्रोतले बतायो । महाशाखाका एसपी जयबहादुर चन्द फरार मनाङ्गे गुन्डागर्दीमा सक्रिय रहेको र वारेन्ट जारी भएका व्यक्ति भएकाले पक्राउ गरिएको बताउँछन् । प्रहरीले मनाङ्गेबाट उनले प्रयोग गर्ने मोबाइल फोन पनि बरामद गरेको दाबी गरेको छ । पक्राउ परेलगत्तै प्रहरीले मनाङ्गेलाई स्वास्थ्य परीक्षणका लागि वीर अस्पताल पुर्‍याएको थियो । बेलुका करिब साढे ६ बजे उनलाई अस्पताल लगिए पनि समाचार संकलनका लागि पत्रकारहरूको भीड देखेपछि प्रहरीले उनलाई तत्काल भ्यानबाट ओरालेन । केही पर भ्यान लगेर राखेपछि पत्रकारहरू फर्किने तरखर गर्दागर्दै प्रहरीको भ्यान पुनः फर्कियो र भ्यानबाट मनाङ्गे ओर्लिए । ज्याकेटमा रहेका मनाङ्गे मुसुमुसु हाँस्दै भ्यानबाट ओर्लिएका थिए । ०५९ जेठमा डायनेस्टी डिस्कोमा भएको कुटपिटको घटनामा दोषी ठहर गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले उनलाई एक वर्षको कैद र पाँच हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो । सोही अभियोगमा २२ साउनमा पक्राउ परेका उनी ११ भदौमा सर्वोच्चको आदेशमा रिहा भएका थिए । उनले ३ भदौमा 'आफू दीपक मनाङ्गे नभई राजीव गुरुङ भएको दाबी गर्दै' सर्वोच्च अदालतमा बन्दी-प्रत्यक्षीकरणको रिट हालेका थिए । उनको रिटको पक्षमा सर्वोच्चले फैसला गर्दै राजीव गुरुङलाई रिहा गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौं र डिल्लीबजार कारागारको नाममा आदेश जारी भएलगत्तै डिल्लीबजार कारागार प्रशासनले दीपक मनाङ्गेको रूपमा कैदमा रहेका उनलाई राजीव गुरुङ भन्दै रिहा गरेको थियो । राजीव गुरुङको नाममा मनाङ्गे रिहा भएको सार्वजनिक भएलगत्तै जिल्ला प्रशासन कार्यालयले १२ भदौमा पुनः उनको नाममा पक्राउ आदेश जारी गरेको थियो । पक्राउ आदेश जारी हुनुअगाडि नै मनाङ्गे भूमिगत बनिसकेका थिए ।

No comments: