News

Feb 25, 2009

ग्यास उपभोक्ता कार्ड वितरण गरिने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
खाना पकाउने (एलपी) ग्यास बिक्री वितरण प्रभावकारी बनाउन आजदेखि ग्यास उपभोक्ता कार्ड वितरण गरिने भएको छ । ग्यास बिक्रेता महासंघले कार्ड वितरण गर्ने भएको हो । बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई उपभोक्ता कार्ड दिएर वितरण सुरु गर्ने महासंघले जनाएको छ । महासंघले पहिलो चरणमा उपत्यकाको बिक्री क्षेत्र-१ अन्तर्गत बालुवाटार, महाराजगन्ज, ठमेल, नयाँबजार, लाजिम्पाट, गोंगबु, वनस्थली, नेपालटार, बूढानीलकण्ठ क्षेत्रमा डिपोमार्फत ३० हजार उपभोक्तालाई कार्ड वितरण गर्ने भएको छ । यसैगरी दोस्रो चरणमा नयाँबानेश्वर, कोटेश्वर, अनामनगर, मैतीदेवी, पुतलीसडक र तेस्रो चरणमा जोरपाटी, चावहिल, धुम्बाराही क्षेत्रमा ग्याास उपभोक्ता कार्ड वितरण गर्ने महासंघले जनाएको छ । उपत्यकाभित्रका पाँच ग्यास वितरण क्षेत्रमा उपभोक्ता कार्ड वितरण गरी चितवन, पोखरामा पनि अभियान सञ्चालन हुनेछ । ग्यास वितरण प्रणाली प्रभावकारी र सर्वसुलभ तुल्याउन कार्ड वितरण अभियान थाल्न लागिएको महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालले बताए । उपभोक्ता कार्ड वितरणपछि वैज्ञानिक एवम् सर्वसुलभ ग्यास बिक्री वितरण प्रक्रिया अघि बढ्ने उनले बताए । हाल उपत्यकामा ११ हजार मेटि्रक टन ग्यास ल्याइए पनि बिक्री वितरण प्रणाली पारदर्शी एवम् प्रभावकारी नहुँदा समय समयमा अभाव सिर्जना हुने गरेको नेपाल आयल निगमका प्रवक्ता मुकुन्द ढुंगानाले जानकारी दिए । ग्यास डिपोले विभिन्न कम्पनीका सिलिन्डरमार्फत उपभोक्ताकहाँ ग्यास पुर्‍याउने काम भइरहेकामा केही कम्पनीमा मजदुर समस्यालगायत आन्तरिक व्यवस्थापन राम्रो नहुँदा ग्यास अभाव देखिने गरेको निगमले जनाएको छ ।

No comments: