News

Feb 27, 2009

सरकारद्वारा सात हजार सहिद घोषणा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपाल सरकारले जनयुद्ध, जनआन्दोलन र मधेस आन्दोलनका क्रममा ज्यान गुमाएका करिब सात हजारजनालाई सहिद घोषणा गरेको छ । सिंहदरबारमा शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न आन्दोलनमा ज्यान गुमाएकालाई सहिद घोषणा गरेको सूचना तथा सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभयो । केही समयअघि बसेको मन्त्रिपरिषद्ले जनयुद्ध, जनआन्दोलन र मधेस आन्दोलनका क्रममा ज्यान गुमाएकालाई सहिद घोषणा हुनेगरी नामावली पेस गरेको थियो । मन्त्री महराले त्यसमा नाम आउन बाँकी बाहेक पेस भएका सबैलाई सहिद घोषणा गर्ने निर्णय गरिएको जानकारी दिनुभयो । उहाँले केही आउन बाँकी रहेको र केहीको नाम सच्याउनुपर्ने बताउनुभयो । जनयुद्धका क्रममा ज्यान गुमाएकालाई जनयुद्ध सहिद, जनआन्दोलनमा ज्यान गुमाउनेलाई जनआन्दोलन सहिद र मधेस आन्दोलनमा ज्यान गुमाउनेलाई मधेस आन्दोलन सहिद घोषणा गरिएको छ । सहिद घोषणा भएका परिवारलाई दस लाख रुपियाँ दिने निर्णय सरकारले यसअघि नै गरिसकेको छ । यसैगरी बैठकले रामपुर, चितवनमा कृषि तथा वन विश्वविद्यालय र सुर्खेतमा मध्यपश्चिमाञ्चल विश्वविद्यालय स्थापना गर्ने निर्णय पनि गरेको मन्त्री महराले जानकारी दिनुभयो । बैठकले शिक्षा मन्त्रालयलाई खुला विश्वविद्यालयका बारेमा विधेयक बनाएर ल्याउने स्वीकृति पनि प्रदान गरेको छ । बैठकले यातायात व्यवस्था विभागको पुनःसंरचना गरी तीनवटा नयाँ महाशाखा बनाउने निर्णय पनि गरेको छ । यसैगरी बैठकले कोसी बाढीपीडित व्यवस्थापन उच्चस्तरीय कार्यदलको अध्यक्षमा सभासद् नन्दनकुमार दत्तलाई चयन गरेको छ ।

No comments: