News

Nov 1, 2009

नेपालीमै इन्टरनेट ठेगाना लेखेर वेब हेर्न सकिने सन् २०१० देखि

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
१४ कात्तिक,अंग्रेजीमा वेबसाइट ठेगाना लेख्दा आफ्नै भाषामा लेख्न रहर गर्नेहरूको इच्छा पूरा हुने भएको छ । चार दशकदेखि चलिआएको परम्परा तोड्दै आइसिएएनएन (द इन्टरनेट कर्पारेसन फर असाइन्ड नेम्स एन्ड नम्बर्स) ले अंग्रेजीबाहेक अन्य भाषामा पनि वेब ठेगाना राख्न सकिने अनुमति दिने प्रस्ताव पारित गरेको छ । दक्षिण कोरियामा बिहीबार बसेको आइसिएएनएनको वाषिर्क साधारणसभाले पारित गरेको निर्णयअनुसार सन् २०१० देखि इन्टरनेट ठेगाना नेपाली, चिनिया, कोरियालीलगायत अन्य गैरअंग्रेजी भाषामा पनि राख्न सकिने जनाएको हो । चार दशकअघिदेखि सुरु भएको इन्टरनेट प्रविधिमा यसलाई ठूलो परिवर्तनका रुपमा लिइएको छ । आइसिएएनएनले इन्टरनेट ठेगाना नियमन गर्ने गर्छ । आइसिएएनएनको यो निर्णयले डोमेन नेम पनि अंग्रेजीबाहेकका अन्य भाषामा राख्न सकिने अनुमतिको बाटो खुलेको छ । वेब ठेगाना नेपाली भाषामा पनि राख्न सकिने सुविधाले प्रयोगकर्तालाई केही सहज भए पनि नेपाली प्रयोगकर्तामा यसले खासै फरक नपार्ने मर्कन्टाइलका वेभ को-अर्डिनेटर सुरज अधिकारीले बताए । नेपालीलगायत अन्य भाषामा पनि वेब ठेगाना राख्न सकिने निर्णयले अल्पकालमा ठूलो परिवर्तन नल्याए पनि दीर्घकालमा भने सकारात्मक प्रभाव पार्छ,' उनले भने, 'कम्प्युटरमा प्रयोग हुने एप्लिकेसनका नेपाली भाषामा उपलब्ध नभएसम्म नेपालमा भने यसले ठूलो फरक पार्लाजस्तो लाग्दैन ।' आपनै भाषामा अपरेटिङ सिस्टमलगायत सफ्टवेयर उत्पादन गरिसकेको चीन, भारतलगायत मुलुकमा भने यो व्यवस्थाले प्रयोगकर्ता बढाउने उनले बताए । मर्कन्टाइलले नेपालमा निःशुल्क रुपमा वेब ठेगाना दर्ता गर्ने तथा इन्टरनेट सुविधा उपलब्ध गराउने गर्छ । स्थापनाकालदेखि नै अंग्रेजीमा भाषामा लेखिएको वेब ठेगाना मात्रै प्रयोग गर्दै आए पनि विश्वमा इन्टरनेट प्रयोग गर्ने एक अर्ब ६० करोडमध्ये आधाभन्दा बढी गैरअंग्रेजीभाषी रहेका छन् । अन्य भाषामा पनि इन्टरनेट ठेगाना राख्ने दिने आफ्नो निर्णयलाई आइसिएएनएनले इन्टरनेट दुनियामा भएको अकल्पनीय परिवर्तनको संज्ञा दिएको छ । 'प्राविधिक रुपमा निकै जटिल भए पनि समयको मागअनुसार अन्य भाषामा पनि इन्टरनेट ठेगाना राख्ने मिल्ने प्रस्ताव पारित गरिएको छ । अब इन्टरनेटको कोडिङमा समेत परिवर्तन हुनेछ,' आइसिएएनएनको विज्ञप्तिमा भनिएको छ ।अंग्रेजी बाहेक अन्य भाषामा वेब ठेगाना राख्ने सुविधा उपलब्ध गराउन आइसिएएनएनले १६ नोभेम्बरदेखि आवेदन खुला गर्ने जनाएको छ । सुरुमा चिनियाँ र अरेबिक भाषामा वेबसाइट परिवर्तन गर्न धेरै आवेदन आउने अपेक्षा गरिएको छ । हाल चिनियाँ तथा अरेबिक भाषाका इन्टरनेट ठेगानामा वेबसाइट खुलेका भए पनि अन्तर्राष्ट्रिय मान्यता नपाएका कारण विश्वभरका कम्प्युटरमा खोल्न सकिँदैन । अन्य भाषामा पनि इन्टरनेट ठेगाना राख्न मिल्ने निर्णय कार्यान्वयन गर्न जुनसुकै भाषामा पनि एकै हुनेखाले इन्टरनेट कोड विकास गर्ने निर्णय आइसिएएनएनले गरेको छ । इन्टरनेट प्रयोगकर्ताको आधा हिस्सा तथा भविष्यमा थपिने नयाँ प्रयोगकर्ताको आवश्यक्तालाई ध्यान दिंदै इन्टरनेट प्रयोगलाई थप व्यापक पार्ने यस्तो निर्णय लिइएको हो,' आइसिएएनएनका प्रमुख कार्यकारी अधिकृत तथा अध्यक्ष रड बेकस्ट्रोमले भने । अमेरिकी सरकारले सन् १९९८ मा स्थापना गरेको आइसिएएनएनले इन्टरनेटको नियमन गर्दै त्यसको विकासमा सहयोग पुर्‍याउँदै आएको छ । प्रारम्भमा अमेरिकी सरकारको उच्च प्रभावमा रहे पनि बढ्दो अन्तर्राष्ट्रिय दबाबपछि सो गैरनाफामुखी संस्थामा परिणत भएको छ ।

No comments: