News

Nov 30, 2009

दार्जिलिङमा विद्यार्थीलाई मोटरसाइकल र मोबाइल चलाउन रोक

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
दार्जिलिङ, मंसिर १५- गोर्खाल्याण्डका लागि दार्जिलिङमा आन्दोलनरत् गोर्खा जनमुक्ति मोर्चाले विद्यार्थीलाई मोटरसाइकल र मोबाइल चलाउन रोक लगाएको छ। विद्यार्थीबाट मोबाइल र मोटरसाइकलको दुरुपयोग भएको दाबी गर्दै मोर्चाले शुक्रबारदेखि प्रतिबन्ध लगाएको हो। आन्दोलनका क्रममा यसअघि मदिरा बिक्री वितरण, सरकारी कर्मचारी र कलेजका विद्यार्थीलाई नेपाली पोशाक अनिवार्य गरिसकेको मोर्चाले पछिल्लो पटक विद्यार्थीलाई मोबाइल र मोटरसाइकल चलाउन प्रतिबन्ध लगाएपछि यहाँका विद्यालय र कलेजमा अध्ययन गर्ने विद्यार्थी आक्रोशित भएका छन्।'विद्यार्थीबाट मोटरसाइकल र मोबाइलको दुरुपयोग भएकाले हामीले रोक लगाएका हौं', मोर्चाका केन्द्रीय सदस्य डा. हर्क क्षेत्री भन्छन्- 'हामीले विद्यार्थीका अभिभावकको अनुमति लिएर प्रतिबन्ध गरेका हौं।' मोटरसाइकल र मोबाइलको दुरुपयोगका कारण दार्जिलिङ र कालिङपोङमा केही समयअघि तीन विद्यार्थीको मृत्यु भएको उनको दाबी छ।मोबाइल र मोटरसाइकललाई विद्यार्थीले मनोरञ्जनको साधनका रुपमा मात्र लिएको मोर्चाले जनाएको छ। मोबाइल र मोटरसाइकल प्रयोग गरे/नगरेकोबारे मोर्चाको सुरक्षा दस्ता पर्शनल जीएलपीले निगरानी गर्नेछ। 'प्रयोग गरेको पाइएमा जफत गर्न भनेका छौं', क्षेत्रीले भने- यो कदमले यी सामग्रीको सही सदुपयोग गर्न टेवा पुर्‍याउँछ भन्ने हाम्रो अपेक्षा छ।मोर्चाले लगाएको प्रतिबन्धलाई कतिपय अभिभावकले स्वागत गरे पनि कतिपयले विरोध गरेका छन्। सरकारबाट सवारी साधन चलाउन अनुमति पाइसकेकाले मोटरसाइकल चलाउन र सञ्चारको साधन प्रयोग गर्न नदिन मोर्चालाई कुनै अधिकार नभएको विद्यार्थीले बताएका छन्।

No comments: