News

Nov 23, 2009

माओवादीको महाधिवेशन एक बर्षपछि गर्ने निर्णय

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
मंसिर ८ - माघ १५ गतेका लागि तय गरिएको माओवादीको महाधिवेशन एक बर्षपछि सरेको छ ।सोमबार बसेको केन्द्रीय समितिको बैठकले महाधिवेशन एक बर्षपछि गर्ने निर्णय गरेको हो । पार्टीको आन्तरिक तयारी, जारी नागरिक सर्वोच्चताको आन्दोलन तथा शान्तिप्रकृयालाई निष्कर्षमा पुर्‍याउने बाध्यताका कारण महाधिवेशनको मिति सारिएको केन्द्रीय सदस्य देवेन्द्र पौडेलले जानकारी दिए । 'खासगरी सदस्यता बृद्धिको अभियान, कतिपय जिल्ला सम्मेलनका कुराहरु र दस्तावेजहरु पूरा भइसकेका छैनन्,' पौडेलले भने, 'संघर्षका कार्यक्रम पनि घोषणा गरेको र शान्तिप्रकृयालाई निष्कर्षमा पुर्‍याउने र संविधान निर्माण गर्ने मुख्य जिम्मेवारी रहेकाले महाधिवेशनको कार्यक्रमलाई एक बर्षपछि सार्ने निर्णय गरेका हौं ।' सोमबारको बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहालले महाधिवेशन सार्नुपर्ने प्रस्ताव राखेका थिए । गत असारमा बसेको केन्द्रीय समितिको बैठकले पार्टीको महाधिवेशन आगामी माघ १५ देखि फागुन १ गतेसम्म गर्ने निर्णय गरेको थियो । बैठकले पार्टीको राजनीतिक प्रतिवेदन लेख्ने जिम्मा अध्यक्ष दाहाललाई र संगठनात्मक प्रतिवेदन लेख्ने जिम्मा उपाध्यक्ष मोहन वैद्यलाई दिएको थियो । २०४८ सालमा तत्कालीन नेकपा मशाल, नेकपा चौम (निर्मल लामा समूह), रुपलाल विकले नेतृत्व गरेको सर्वहारावादी श्रमिक संगठन र क्रान्तिकारी मसालबीच एकीकरण भएपछि आयोजना गरिएको महाधिवेशनपछि माओवादीले अर्को महाधिवेशन गर्न सकेको छैन । माओवादीले यसअघि तीनपटकसम्म महाधिवेशनको मिति तय गरेपनि हुन सकेको छैन । केन्द्रीय कमिटीको बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहालले जारी नागरिक सर्वोच्चताको आन्दोलन, राष्ट्रिय सरकारको गठनलगायतका बिषयमा धारणा राखेका थिए । बैठकले सहमति र संवादको लागि प्रयत्न जारी राख्ने निर्णय गरेको जानकारी दिदै पौडेलले आन्दोलनलाई पनि सशक्त पारिने बताए ।

No comments: