News

Nov 21, 2009

टेलिभिजनको पर्दामा गीत गाइरहेका देखिने प्रशान्त तामाङ यो साता पाल्पा मदनपोखरामा दुलाहाको भेषमा देखा परे। कम्मरमा खुकुरी भिरेर दुलही लिन भीरको बाटो हिँड्दा पनि उनका पाइलाले पञ्चेबाजाको ताल पछ्याइरहेका थिए। इन्डियन आइडल उपाधि जितेपछि चर्चामा आएका प्रशान्त अहिले हिरो बनेका छन्। लोकगायक नारायण रायमाझीले निर्देशन गरिरहेको फिल्म 'गोर्खा पल्टन'मा उनी लाहुरेको भूमिकामा देखिँदैछन्।गत साता पाल्पामा भने यी लाहुरे प्रशान्तको कुनै लडाइँको होइन, विवाहको सुटिङ हुँदै थियो। १५ दिनदेखि मदनपोखराका गाउँमा छुट्टिमा आएको लाहुरेका गाउँका दृश्यको सुटिङ भइरहेको थियो। एउटा घरलाई बिहे घर बनाइएको थियो। यो घरका हर्ताकर्ता थिए, अर्का अभिनेता सुनिल थापा। नेपाली फिल्ममा प्रायः खलचरित्रमा देखिने सुनिल 'गोर्खा पल्टन'मा भने प्रशान्तका मामाको भूमिकामा छन्।दुलही लिन जन्ती जाने दृश्य सकिएपछि युनिट अर्को दृश्यको तयारीमा लाग्यो। त्यहीबीचमा सुनिलले प्रशान्तको अभिनयमाथि टिप्पणी गरे, 'गायनमात्र होइन, प्रशान्तले अभिनयमा पनि आफ्नो स्थान बनाउने छन्।' एकैछिनमा दुलही भित्र्याउने दृश्यको तयारी सुरु भयो। अघि हिँडेको जन्ती फर्कियो। यसपटक चाहिँ प्रशान्त एक्लै थिएनन्, दुलहीको डोली समाएर आइरहेका थिए। डोलीमा थिइन्, दुलही बनेकी अभिनेत्री रञ्जिता गुरुङ। जन्ति घर नजिकै आइपुग्दा तोरीबारीको बीचमा प्रशान्त लड्खडाए। यो देखेपछि निर्देशक रायमाझी चिच्याए, 'कट'। दृश्य फेरि लिनुपर्ने भयो। दुलही भित्र्याउन लागेको हिरो लड्न लागेको दृश्य फिल्ममा सुहाउँदैन। दृश्यको फेरि तयारी भइरहेका बेला प्रशान्तले आफू लड्खडाउनुको कारण ठट्यौलो पारामा सुनाए, 'एकछिन त मैले सुटिङ भन्ने नै बिर्सेछु।' त्यसपछि सुनिल थापातिर फर्केर सोधे, 'साँच्चिकै बिहेमा त कसैले यसरी कट नभन्लान् नी!' सुनिलले हाँसेर उनको कुरामा सही थापे।

No comments: