News

Nov 21, 2009

खानीडाँडा विमानस्थलमा आइतबारदेखि नियमित उडान हुने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
खोटाङ/ दसैंअघिबाटै नियमित उडान हुने भनिएको खोटाङ खाल्लेस्थित मनमाया राई खानीडाँडा विमानस्थलमा आइतबारदेखि नियमित उडान हुने भएको छ । नेपाल एयर लाइन्सको विमानले आइतबार नियमित उडान थालनी गर्ने उपभोक्ता समितिका अध्यक्ष दुर्गा घिमिरेले बताए । सातामा एकपटक नियमित उडान हुने समितिले जनाएको छ । यसअघि ३ असोजमा पर्यटनमन्त्री शरतसिंह भण्डारीले विमानस्थल उद्घाटन गरेका थिए । पहिला पनि पटक-पटक गरी विमानस्थलमा चारपटक परीक्षण उडान भरिएको थियो । विमानस्थल निर्माणमा समुदायको ३ करोड ५० लाख र प्राधिकरणको ५ करोड ४९ लाख रुपैयाँ खर्च भइसकेको निर्माण उपभोक्ता समितिका कोषाध्यक्ष नारायणप्रसाद जोशीले बताए । ०५९ भदौदेखि समुदायले निर्माण सुरु गरेको विमानस्थलमा विमान अवतरणका लागि ९० प्रतिशत काम सकिएको छ । बाँकी काम सक्न अझै ५ करोड ७ लाख रुपैयाँ लाग्ने समितिले जनाएको छ । विमानस्थलमा टेवा पर्खाल, कर्मचारी आवास, सुरक्षा आवासलगायत काम बाँकी छन् । यसैबीच, विमानस्थल निर्माणका क्रममा अनियमितता भएको खुलासा भइसक्दा पनि यसबारे अझै कारबाही भएको छैन । विमानस्थलमा निर्माणका क्रममा उपभोक्ता समितिका अध्यक्ष दुर्गा घिमिरेले ६ लाख रुपैयाँ अनियमितता गरेको प्रतिवेदन सार्वजनिक भए पनि कारबाही हुन नसकेको हो । पूर्वसांसद कुलप्रसाद शर्मा पुयालको संयोजकत्वमा गठित समितिले अनियमितता भएको निष्कर्षसहितको प्रतिवेदन सार्वजनिक गरेको थियो ।

No comments: