News

Nov 29, 2009

गिरिजाप्रसाद कोइराला क्यान्सरपीडित बनेको आशंका

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
१३ मंसिर,लामो समयदेखि बिरामी कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला क्यान्सरपीडित बनेको सम्भावना छ । चिकित्सकले क्यान्सरको आशंकामा फोक्सोको तल्लोभाग काट्न खोजेपछि कोइराला निमोनियाको मात्र उपचार गराएर फर्किएका छन् ।कोइरालाका भतिजा डा. श्रीहर्षका अनुसार सिंगापुर ग्लिन इगल्स हस्पिटलका चिकित्सकले 'कोइरालालाई क्यान्सर लागेको संकेत गरेका थिए । तर, कोइराला भने आफ्ना दाजुहरू क्यान्सरको अपरेसन गर्दा 'गएको' भन्दै निमोनियाको मात्र उपचार गराएर फर्किएका छन् । फोक्सोको तल्लोभागमा पानी जमेपछि उपचारका लागि सिंगापुर गएका कोइरालालाई चिकित्सकले अपरेसन गरेर फोक्सोको पानी झिक्न सुझाव दिएका थिए । तर, उनले मानेनन् । कोइरालाका भतिजा श्रीहर्षले नयाँ पत्रिकासित भने, 'हाम्रो परिवारका धेरै सदस्यलाई क्यान्सर रोग लागेको छ । गिरिजाबाबुलाई पनि क्यान्सर लागेको डर छ ।' श्रीहर्षका अनुसार चिकित्सकले गिरिजाप्रसादलाई भनेका थिए, 'तपाइं पाँच वर्षजति बाँच्नुहुन्छ, अक्सिजन लिनुपर्दैन, ज्वरो आएपछि औषधि खाइरहनुपर्दैन, त्यो चैं (फोक्सोको तल्लोभाग) काटिहाल्नुपर्छ । नत्र क्यान्सरको डर छ ।' तर, यति भन्दा पनि गिरिजाप्रसादले अपरेसन गर्न मानेका छैनन् । 'मेरा दाजुहरू पनि अपरेसन गर्दा नै गए, अपरेसन गरेँ भने म पनि जान्छु,' उनले चिकित्सकलाई भनेको श्रीहर्षले बताए । यसरी अपरेसन नै नगरी गिरिजाप्रसाद फोक्सोमा भएको निमोनियाको मात्र उपचार गरेर सिंगापुरबाट फर्किएका छन् । रगतमा अक्सिजन कम भएर २४ कात्तिकमा गंगालाल हृयरोग केन्द्रमा भर्ना भएका कोइराला थप स्वास्थोपचारका लागि एयर एम्बुलेन्समार्फत थप उपचारका लागि २८ कात्तिकमा सिंगापुर गएका थिए । उनी ७ मंसिरमा उपचार गराएर स्वदेश फर्किएका थिए । चिकित्सकको सल्लाहअनुसार कोइरालाले निमोनिया र छातीको इन्फेक्सनका साथै एड्भान्स टेक्नोलोजीबाट शरीरका सबै अंगको परीक्षण गराएको बुझिएको छ । श्रीहर्षले कोइराला परिवारका अधिकांश सदस्यको क्यान्सर रोगबाट ज्यान गएको बताए । उनले कोइराला परिवारमध्ये गिरिजाप्रसाद कोइरालाकी आमा दिव्या कोइरालाका सन्तान सबैजसोको मृत्यु क्यान्सरबाट भएको हो । गिरिजाप्रसादलाई पनि यही डर छ । कृष्णप्रसादकी तेस्री तथा कान्छी श्रीमती दिव्याको कोखबाट जन्मिएको बिपी, केशव र तारणीप्रसादको क्यान्सरबाट मृत्यु भएको थियो । तारिणीकी छोरी कल्पनाको पनि क्यान्सरबाट मृत्यु भएको थियो । 'कोइराला परिवारमा क्यान्सर वंशानुगत रोग बन्यो, बिपीलाई क्यान्सर भयो, तारिणी बुबालाई क्यान्सर भयो, केशव बुबालाई क्यान्सर भयो,' श्रीहर्षले भने, 'गिरिजाबाबुलाई अहिले निमोनिया छ नि, त्यो पनि क्यान्सरको डर छ ।' गिरिजाप्रसादका बाबु कृष्णप्रसादले दोस्रो विवाह गरेकी धादिङकी मोहनकुमारी ट्टिकी सन्तान भने प्रायः दिमागको रोगबाट मृत्यु भएको थियो । उनका सन्तान मातृकाप्रसाद र उनका दुई छोराको मस्तिष्कको रोगले मृत्यु भएको थियो । त्यस्तै मोहनकुमारीकी नातिनी शैलजाको पनि पछिल्लो समयमा मस्तिष्कमै समस्या देखिएको थियो । मातृकाका छोरा विमल र सञ्जयको पनि निधन भइसकेको छ । श्रीहर्षले भने, 'मोहनकुमारीपट्टकिा सन्तानमा दिमागको रोग देखिएको छ भने दिव्यातिर क्यान्सर देखिएको छ ।' कांग्रेस सभापति कोइरालको निजी चिकित्सक जगदीश अग्रवालले भने श्रीहर्षको भनाइ मित्थ्या भएको दाबी गरे । उनले गिरिजाप्रसादलाई क्यान्सरको कुनै संभावना नभएको दाबी गर्दै भने, 'कांग्रेस सभापतिलाई छातीको इन्फेक्सन र निमोनियाको समस्या छ, त्यत्ति हो । क्यान्सरको कुनै संभावना छैन ।' उनले कोइरालालाई चिकित्सकले अपरेसन गर्ने सल्लाह दिएको भन्ने भनाइसमेत झूटो रहेको दाबी गरे । उनले भने, 'यो सबै वाहियात कुरा हो ।' सिंगापुरबाट फर्किएपछि गिरिजाप्रसादले छातीको इन्फेक्सन र निमोनिया कम गर्न नियमित थेरापी गरिरहेका छन् । कोइरालाको उपचारमा उनका निजी चिकित्सक अर्जुन कार्की र जगदीश अग्रवाल संलग्न छन् । गतवर्ष २२ मंसिरमा धनगढीबाट काठमाडौं फर्किने क्रममा विमानमै अस्वस्थ कोइराला सोही दिन अस्पताल भर्ना भएका थिए । उनलाई त्रिभुवन विमानस्थलबाट सीधै बाँसबारीस्थित सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र ल्याई उपचार गरिएको थियो । सभापति कोइराला लामो समय लगातार धूमपान गर्नेलाई फोक्सोमा लाग्ने क्रोनिक ब्रोन्काइटिसबाट पीडित छन् । धूमपानका अम्मली ८६ वर्षीय कोइरालाले चार वर्षअगाडि मात्र चुरोट छाडेका थिए ।

No comments: