News

Nov 24, 2009

प्रमुख प्रतिपक्षी माओवादीले संसदको अवरोध खुला गरिदिए

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रमुख प्रतिपक्षी एकीकृत नेकपा माओवादीले संसदको अवरोध खुला गरिदिएपछि वार्षिक बजेट पारित गर्ने प्रकृया व्यवस्थापिका संसदमा शुरु भएको छ।त्यससंगै बजेट पारित गर्ने विषयलाई लिएर सत्तापक्ष र प्रतिपक्षबीचको सम्भावित राजनीतिक भीडन्त केही समयको लागि टरेको देखिएको छ।तर राजनीतिक मतभेदका अन्य मुद्दाहरूमा भने विमतिहरू यथावत छन्।मतभेद सुल्झाउनकै निम्ति नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइराला र माओवादी अध्यक्ष प्रचण्डबीच सोमवार परामर्श भएको थियो। माओवादीले तीन दिन संसद खोल्ने निर्णय गरेकाले पर्सी बुधवारसम्म बजेट पारित गर्ने गरी संसदीय प्रकृया शुरु भएको छ।फलस्वरूप, कयौ महिना संसदको बैठक शुरु हुना साथ रोष्टम घेर्दै शुरु हुने नाराबाजीको दृष्य सोमवार देखिएन।बैठकको शुरुमा बोलेका माओवादी संसदीय दलका उपनेता नारायणकाजी श्रेष्ठ प्रकाशले सरकार सहमति गर्न उदासीन भएको आरोप लगाए। आफ्नो पार्टीले देश र जनताप्रतिको जिम्मेवारी बोध गरी एकतर्फी रुपमा बजेट पारित हुने बाटो खोलिदिएको प्रकाशले बताए।उनले आफूहरुलाई वर्तमान संसदीय प्रकृया स्वीकार्न लगाउने र माओवादी सेना विघटन गरी आत्मसमर्पण गराउने प्रयत्न भइरहेको आरोप लगाए।त्यसपछि शुरु भएको बजेटमाथिको छलफलको बेला सरकारको सबैभन्दा ठूलो घटक नेपाली कांग्रेसका नेता डा. रामशरण महतले प्रकाशको भनाइको खण्डन गरे। माओवादीले आफ्नो नेतृत्वको सरकारले बर्खास्त गरेका सेनापतिलाई राष्ट्रपतिले थामौती गरिदिएपछि सरकार छाडेर सडक र संसदमा आन्दोलन शुरु गरेको हो। उसले राष्ट्रपतिको उक्त कदमबाट नागरिक सर्वोच्चता खोसिएको बताउँदै त्यसलाई प्रतिक्रान्तिको पहिलो पाइला भन्दै आएको छ।तर सरकार र उसका समर्थकहरु, सत्ता कब्जा गर्ने उदेश्यले तत्कालीन प्रधानमन्त्री प्रचण्डले गैरसम्वैधानिक कदम चालेको र त्यो रोकेर राष्ट्रपतिले नागरिक हकको संरक्षण गरेको धारणा राख्छन्।

No comments: