News

Nov 30, 2009

बुल्गेरियाका प्रधानमन्त्रीको नामबाट रक्सीको नामकरण

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सोफिया/ बुल्गेरियाका गाउँलेले घरमा बनाइएको ब्रान्डीको नाम 'बोरिसोफ्का' राखेका छन् । रक्सीको कर वृद्धि गर्नबाट सांसदलाई रोकेकोमा प्रधानमन्त्री बोइको बोरिसोभको नामबाट उनीहरूले ब्रान्डीको नाम बोरिसोफ्का राखेका हुन् । गत महिना बुल्गेरियाको नयाँ सरकारले घरमा बनाइएको रक्सीमा कर लगाउने निर्णय गरेको थियो । सरकारले कर वृद्धि गरेमा शताब्दी पुरानो वाइन र राकिया बनाउने परम्परा समाप्त हुने भन्दै जनताले विरोध गरेका थिए । संसद् बजेट कमिसनले २०१० देखि राकिया र वाइनमा कर लगाउने प्रस्ताव राखेको थियो । यस प्रस्तावलाई संसद्ले बुधबार पारित गर्ने बताइएको थियो । तर, प्रधानमन्त्री बोरिसोभले यो कर बढाउने योजना त्याग्न मन्त्री र सांसदहरूलाई अनुरोध गरे । प्रधानमन्त्री कराँतेका ब्ल्याकबेल्ट हुन् । कर बढाउने योजना रोक्न लगाएको धन्यवादस्वरूप कोपातोभका गाउँलेले २००९ को राकियाको नाम 'बोरिसोफ्का' राखेका हुन् । रुसमा पनि प्रधानमन्त्री भ्लादिमिर पुटिनको नामबाट भोड्काको नामकरण 'पुटिन्का' राखिएको थियो । 'मेरो गाउँ र वरिवरिका मानिस एकदम खुसी छौँ । हामी जँड्याहा भएका कारण खुसी भएका होइनौँ । हामी हाम्रो परम्परागत राकिया बनाउने चलन संरक्षण गर्न चाहन्छौँ,' कापाटोभाका मेयर जियान कोकोभले भने । बुल्गेरियामा प्रत्येक परिवारले वर्षमा ३० लिटर राकिया कर नतिरी बनाउन पाउँछन् । राकिया अंगुरबाट बनाइन्छ । प्रधानमन्त्रीले काम गर्ने साधारण जनतालाई संरक्षण गर्नुपर्ने बताए । कोकोभका जनताले प्रधानमन्त्री बोरिसोभलाई केही बोतल घरमा बनाएको राकिया पठाउने बताएका छन् ।

No comments: