News

Nov 28, 2009

१३ वर्षीया बालिकाले छोरी जन्माइन्

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपालगन्ज/ भेरी अञ्चल अस्पतालमा १३ वर्षीया बालिकाले छोरी जन्माएकी छिन् । धादिङ घर भएकी सम्झना सुनारले नेपालगन्ज आएको समयमा अढाइ केजीकी स्वस्थ बच्चा जन्माएकी हुन् । तोतेबोली भएकी सम्झनाको शल्यक्रियाबाट बच्चा निकालिएको थियो । उनका बुबा नेपालगन्जमा काम गर्ने भएकाले उनी एक महिनाअघि घुम्न यहाँ आएकी हुन् । छोरी जन्माएपछि धेरैले धर्मपुत्रीका लागि आग्रह गरेको उनले बताइन् । 'मेरो पेट चिरेर जन्माएकी छोरी कसैलाई दिन्नँ,' उनले भनिन्, 'आफ्नी छोरीको माया लाग्छ नि ।' ११ वर्षकै उमेरमा कक्षा ३ मा पढ्दै गर्दा अभिभावकले जबर्जस्ती धादिङकै सन्तोष सुनारसँग विवाह गरिदिएको उनले बताइन् । सम्झना नेपालगन्ज आएको उनका श्रीमान्लगायत घरका अन्य सदस्यलाई जानकारी छैन । 'माइत आएकी थिएँ । बुबा नेपालगन्ज आउँदा घुम्न मन लागेर आएकी हुँ । यहीँ सुत्केरी भएँ,' सुनारले भनिन् । अस्पतालमा उनको हेरचाह गर्ने कोही छैन । उनीसँग शिशुको स्याहारका लागि आवश्यक सामान पनि नभएको अस्पतालका नर्सहरूले बताए । 'डिस्चार्ज गर्ने वेला भएको छ । तर, कोही छैन,' उनले भनिन् । सुनारले आफू घर जान चाहेको तर घरको फोन नम्बर नभएर खबर गर्न नपाएको बताइन् । छोरीलाई अस्पताल पुर्‍याएपछि आवश्यक सामग्री लिन भनी गएका बुबा विजय सुनार अस्पताल फर्केका छैनन् । 'मलाई घरको फोन नम्बर थाहा छैन, नत्र फोन गरी यसको बुबालाई बोलाउँथेँ,' छोरीतिर इशारा गर्दै सुनारले भनिन् ।

No comments: