News

Nov 19, 2009

सातौ शारीरिक सुगठनमा शम्भु तामाङ भए मिस्टर हङकङ नेपाल

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
मंसिर १ - आइतबार साँझ याउ मा तेई स्थित हेनरी जि ल्योङ हलमा आयोजित सातौ मिस्टर हङकङ नेपाल शारीरिक सुगठन प्रतियोगिताको उपाधि शम्भु तामाङले जितेका छन् । फ्री वेटका आधारमा गराइएको प्रतिस्पर्धामा ३१ बर्षीया तामाङ सात प्रतिस्पर्धीलाई पछि पार्दै विजेता बनेका हुन । उनी गतबर्षका उपविजेता हुन । छैठौं संस्करणका विजेता लोकेन्द्र परियारले भने दोस्रो स्थानमै चित्त बुझाउनु पर्‍यो । दिलिप पोमो तेस्रो भए । प्रतियोगिता सुरु हुनु अगावै नेपाली युवाहरुका जमातले हल खचाखच भरिएको थियो । गत बर्षका तीनै शिर्ष उपाधि विजेताहरुका सहभागिताले प्रतियोगिता अत्यन्तै प्रतिस्पर्धात्मक हुने अधिकांशको अड्कल थियो । भयो पनि त्यस्तै, प्रतिस्पर्धात्मक एवम रोचक प्रतिस्पर्धामा अन्ततः अघिल्ला विजेता लोकेन्द्र परियारलाई पछि पार्दै शम्भुले उपाधि हात पारे । तीन संस्करण सम्म लगातार सहभागिता जनाउँदै आएका तामाङ २००६ का मिस्टर हङकङ नेपाल हुन । सफलतापछि अत्यन्तै उत्साही देखिएका तामाङले अब मिस्टर हङकङमा सहभागिता जनाउने बताए । मिस्टर हङकङ स्थानीय चिनियाहरु समेतको सहभागिता रहने प्रतिष्ठित शारीरिक सुगठन प्रतियोगिता हो । 'अत्यन्तै खुशी छु,' तामाङले भने, 'खानपान र व्यायामको राम्रो संयोग मिलाउन सकेकाले नै जित हासिल भयो ।' प्रतियोगितामा उनले नगद एक लाख रुपैया सहित विजेता ट्रफी हात पारे । प्रतियोगितामा दोस्रो र तेस्रो हुनेले क्रमशः पचहत्तर हजार र पचास हजार रुपैया जिते । बेष्ट पोजिङको उपाधि भने फष्ट रनर अप लोकेन्द्रकै पोल्टामा गयो । यसका लागि उनले थप नगद बीस हजार रुपैया जिते । विजेतालाई दिइएको नगद पुरस्कार अहिलेसम्मकै बढी हो । हङकङ नेपाल बडी बिल्डिङ एसोसिएसनद्वारा आयोजित प्रतियोगितामा हङकङ चाइना बडी बिल्डिङ एण्ड फिटनेश एसोसिएसनका तीन जना चिनिया निर्णायक थिए । प्रतियोगिहरुलाई दुईपटकका धर्मश्री विजेता सानु गुरुङले विभिन्न पोजिङ बारे तालिम दिएका हुन ।

No comments: