News

Nov 21, 2009

सरकारले परिणाममुखी वार्ता नचाहेको आरोप

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
६ मंसिर,सरकारले तराईका सशस्त्र समूहसँग परिणाममुखी वार्ता नचाहेको वार्तामा सहभागी समूहले आरोप लगाएका छन् । सरकार र तराईका चार सशस्त्र समूहबीच शान्ति मन्त्रालयमा शनिबार भएको पाचौँपटकको वार्तापछि सशस्त्र समूहका नेताले यस्तो आरोप लगाएका हुन् । जनतान्त्रिक तराई मुक्ति मोर्चा, मधेसी मुक्ति टाइगर्स, मधेसी भाइरस किलर्स र तराई संयुक्त जनक्रान्ति पार्टी र सरकारी टोलीबीच शनिबार शान्ति मन्त्रालयमा वार्ता भएको थियो । वार्तामा सहभागी मधेसी भाइरस किलर्सका अध्यक्ष तथा वार्ताटोली संयोजक जेपी यादवले भने, 'सरकार परिणामुखी वार्ता गर्न चाहिरहेको छैन । आजको वार्ता पनि यसअघिकै वार्ताकै निरन्तरता मात्र हो ।' सरकारले यसअघि अर्को वार्तामा बस्दासम्म वार्तारत सबै सशस्त्र समूहका नेताकार्यकर्तालाई छाड्ने सहमति गरेको थियो । अध्यक्ष यादवले भने, 'सरकारले १५ दिनभित्र वार्तारत सबै समूहका नेता कार्यकर्तालाई क्रमशः छाड्दै जाने सहमति गरेको छ ।' सरकारले वार्ताका नाममा गफमात्र गरिरहेको उनको आरोप छ । 'वार्ता गर्ने नाममा हामीलाई काठमाडौं बोलाउने र एक-दुई घन्टा गफ गरेर फिर्ता पठाउने काममात्र भएको छ,' नेता यादवले भने । जनतान्त्रिक तराई मुक्ति मोर्चाका वार्ताटोली संयोजक गजेन्द्र मण्डल अनुरागले भने, 'सरकारले वार्ता अवधिभर वार्तारत समूहका नेता-कार्यकर्तालाई सुरक्षा दिने तथा पक्राउ गरेकालाई रिहा गर्ने सहमति गरे पनि कार्यान्वयन नगरेको आरोप लगाए । लिबरेसन टाइगर अफ तराई इलमका वार्ताटोली संयोजक स्वामीजीले भने, 'सहमति लागू नभए यो अन्तिम वार्ता हो ।' शान्तिमन्त्री तथा सरकारी वार्ताटोलीका संयोजक रकम चेमजोङले प्रहरी हिरासतमा रहेका वार्तारत समूहका नेताकार्यकर्तालाई छानबिन गरी क्रमशः छोड्ने सहमति भएको बताए । 'पक्राउ परेका नेताकार्यकर्तालाई छाडिसकेपछि अब हुने वार्तामा सशस्त्र समूहसँग भएको हतियार र राजनीतिक मुद्दाका विषयमा छलफल हुन्छ,' मन्त्री चेम्जोङले भने, 'देश टुत्रयाउन चाहने समूहसँग सरकार वार्ता गर्दैन ।'

No comments: