News

Nov 21, 2009

चर्चित तपस्वी रामबहादुर बम्जनको अवस्था अज्ञात

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
बारा/ पशुबलि रोक्नका लागि पहल गर्न ५ मंसिरमा गढीमाई जाने तयारी गरेका चर्चित तपस्वी रामबहादुर बम्जनको अवस्था अज्ञात बनेको छ । गढीमाई मेला जाने क्रममा बम्जनले बिहीबार साँझ ६ बजे तपस्यास्थल हलखोरियाको जंगल छाडे पनि अहिलेसम्म मन्दिर पुगेका छैनन् । नेपाल राष्ट्रिय तामाङ महासंघले गत मंगलबार राजधानीमा आयोजना गरेको कार्यक्रममा र जिल्लास्थित तामाङ संघसंस्थाले पर्चा-पम्पप्लेटमार्फत तपस्वी मंसिर ५ गते गढीमाई जाने जानकारी गराएका थिए । जिल्लाको बरियारपुर गाविसस्थित गढीमाई मेलामा बलि रोक्न जान्छु भनेर तपस्यास्थल छोडेपछि तपस्वीको अवस्था अज्ञात रहेको नमोबुद्ध तपोवन संरक्षण समितिका सचिव एकानन कुँवरले बताए ।
'सम्पर्कबाहिर रहेकाले तपस्वीको अवस्थाबारेमा समितिका सदस्यहरूलाई समेत जानकारी छैन,' उनले भने । बम्जनले पशुबलि रोक्न गढीमाईमा जाने बताएपछि संरक्षण समितिले बम्जनको सुरक्षाको माग गर्दै बिहीबार जिल्ला प्रशासन कार्यालय कलैयामा पत्राचारसमेत गरेको थियो । 'जसरी पनि आउनुहुन्छ भनेका थिए । तर, शुक्रबार साँझसम्म तपस्वी मेलास्थलमा देखिनुभएको छैन,' बाराका प्रमुख जिल्ला अधिकारी तारानाथ गौतमले भने । बम्जनको अवस्थाबारेमा प्रहरी प्रशासनलाई समेत पत्तो नभएको उनले बताए । प्रजिअ गौतमका अनुसार मंसिर ५ गते गढीमाई मन्दिरमा बम्जनको सुरक्षाका लागि समितिले केही दिनअघि लिखित निवेदन दिएको थियो । 'आवश्यकता महसुस हुनु स्वाभाविक हो, त्यसैले विशेष सतर्कताचाहिँ अपनाइएको थियो,' प्रजिअ गौतमले भने । निवेदन बुझाउन आएलगत्तै उनले तपोवन समितिका सचिवलाई तपस्वी बम्जन कसरी आउने र कतिबेला आउने बताइदिन आग्रह गरेका थिए ।
'गुरु ५ गते गढीमाई आउने पक्का हो, अन्य कुरा मलाई पनि थाहा छैन,' सचिवको भनाइ उद्धृत गर्दै प्रजिअ गौतमले भने । यसअघि तपस्वी बम्जन मन्दिर क्षेत्रमा आए प्रहरीको कडा सुरक्षा घेराभित्र राखिने जिल्लास्थित सुरक्षा निकायले बताउँदै आएका थिए । मेलामा तपस्वी आउने सूचना पाएपछि मन्दिरपरिसर र नजिकका गाविसहरूमा प्रहरीले सुरक्षा व्यवस्था कडा परेको छ । तपस्वी र मेला क्षेत्रको सुरक्षाका लागि दुईवटा बेसक्याम्प स्थापना गरेर एक हजार दुई सय प्रहरी परिचालन गरिएको छ । प्रहरीले गढीमाई मन्दिरको बधशाला क्षेत्रमा विशेष निगरानी राखेको छ । तपस्वी बम्जनले बधशालाको मूलढोकामा नै आसन जमाउने बताइएको थियो । तपोवन संरक्षण समितिले भने तपस्वी जसरी पनि मेलामा पुग्ने र बलि रोक्ने दाबी गरिरहेको छ । 'सम्पर्कबाहिर भए पनि तपस्वीले दुई दिनभित्र आफ्नो शक्ति देखाउनुहुनेछ,' समितिका सदस्य राजकुमार साहले भने । तपस्वीले देखाउने भनिएको शक्तिको बारेमा भने साहले थप कुरा बताउन चाहेनन् । गढीमाई मेला समितिका सचिव मोलीलाल कुशवाहाले भने तपस्वी मन्दिर आए स्वागत गरिने, तर बलि नरोकिने बताए ।

No comments: