News

Nov 27, 2009

राज्यमन्त्री बेगममाथि कारवाही नहुने प्रधानमन्त्रीको भनाई

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
२७ नोभेम्बर, २००९ ,पर्साका तत्कालीन सीडीओ दुर्गाप्रसाद भण्डारीलाई कुटपीट गर्ने कृषि तथा सहकारी राज्यमन्त्री करिमा बेगममाथि कारवाही गर्नुपर्ने माग बढ्दै गएको अवस्थामा प्रधानमन्त्री माधवकुमार नेपालले राज्यमन्त्री बेगममाथि कारवाही नहुने बताउनुभएको छ । बाँकेको नेपालगञ्जस्थित राझा विमानस्थलमा आज पत्रकारहरुसँग कुराकानी गर्दै प्रधानमन्त्री नेपालले राज्यमन्त्री बेगममाथि कारवाही नहुने बताउनुभएको हो । उहाँले भन्नुभयो-राज्यमन्त्री बेगमले मन्त्रिपरिषदमा माफी मागिसकेकाले कारवाही हुँदैन । राज्यमन्त्री बेगमले गल्ती स्वीकार गरिसकेकाले त्यसलाई नै सरकारले कारवाहीको रुपमा लिएको प्रधानमन्त्रीको भनाई थियो । प्रधानमन्त्री नेपालले अहिलेको अवस्थामा राज्यमन्त्री करिमालाई योभन्दा बढी कारवाही गर्न नसकिने बताउनुभयो । गल्ती स्वीकार गर्दैमा कारवाही मान्ने हो भने मन्त्रीहरुलाई सर्वसाधारणले कुटेर माफी मागे भने सरकारले के गर्छ - भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा प्रधानमन्त्री नेपालले कुनै जवाफ दिएनन् । राज्यमन्त्री बेगममाथि कारवाहीको माग गर्दै पर्साका कर्मचारीहरुले बिहिबारदेखि जिल्लास्थित सम्पूर्ण सरकारी कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गर्दै आन्दोलनमा उत्रिएका छन् । राज्यमन्त्री बेगममाथि कारवाही नभएकोमा प्रधानमन्त्री नेपाल र गृहमन्त्री भीम रावलले आफ्नै पार्टीका सभासदहरुको समेत आलोचना खेप्नु परेको छ ।

No comments: