News

Nov 30, 2009

हङकङ । मीतेरी सेवा समिति, पोखरा (हङकङ)ले आगामी डिसेम्बर २६ तारिख शनिबारको दिन, काउलूनस्थित काउलून पार्कको पियाजामा विविध नयाँ प्रस्तुतिसहित छैटौं पोखरेली झ्यालको आयोजना गर्ने भएको छ । उक्त कार्यक्रमको विषयमा विस्तृत रुपमा जानकारी दिने उद्देश्यले सो संस्थाले हिजो अपरान्ह जोर्डनस्थित याक एण्ड यती रेष्टुरेन्टमा एक जानकारी सभाको आयोजना गरेको थियो ।आफ्नो हरेक कार्यक्रममा केही न केही नयाँ प्रयोग गर्दै आएको समितिले यो पालि गायन प्रतियोगितालाई अगाडि ल्याउने भएको छ भने यही वर्ष नै फुटबल प्रतियोगिता पनि सोही अवसरमा गर्ने भएको छ । दुई वर्षअगाडिबाट थालनी गरेको नृत्य प्रतियोगितालाई अन्य संस्थाले पनि सिको गरी थालनी गर्न लागेपछि त्यसलाई यस समितिले सो संस्थाको हकमा त्यागेको जनाएको छ । गत वर्ष कविता वाचन प्रतियोगिताको आयोजना गरेको भए पनि त्यसलाई पनि निरन्तरता नदिई बरु यो सालबाट भ्वाइस अफ पोखरेली झ्याल भन्दै त्यसैलाई निरन्तरता दिने जनाइएको छ ।पोखरेली झ्याल कप (सिक्स ए साइड)-०९ फुटबल प्रतियोगिता पनि यही वर्षबाट निरन्तरता लिने थाहा गराइएको छ । विगत केही वर्षबाट फुटबलमा स्थानीय नेपाली समुदायहरुका युवाहरुमा विशेष चासोका साथ खेलप्रति लगनशीलता बढ्दै गएको देखेर समितिले आफ्नो पहलबाट पनि खेलजगत र युवा उत्साहलाई टेवा दिने प्रयत्नस्वरुप यसरी प्रतियोगिताको आयोजना गर्न लागेको हो । फुटबल प्रतियोगिताको दौरानमा उत्कृष्ठ खेल प्रदर्शन गर्ने खेलाडीलाई म्यान अफ द म्याच, पोखरेली झ्याल ताराको उपाधि दिइने पनि सोही जानकारी सभामा बताइएको थियो ।गायनतर्फ नेपाली समाजमा धेरै नै प्रभाव बढ्दै गएकोले समितिले यो पालिबाट गम्भीरताका साथ परिणाममुखी फलदायी प्रतियोगिताको थालनी गर्ने भएको छ, जसको लागि डिसेम्बर, ०६, १३, र २० गरी तीनवटा प्रारम्भिक चरणहरुलाई प्रतियोगितात्मक शैलीमा पार गराएर ग्राण्ड फिनालेको अवस्थामा २६ तारिखलाई चयन गरिएको छ । नेपाली रुपैंया साठी हजार, तीस हजार र दश हजार तथा ट्रफीहरु दिने उक्त गायन प्रतियोगितालाई संगीतकार दिनेश सुब्बा र विक्रम गुरुङको मुख्य निर्णयात्मक भूमिका रहने भएको छ । भ्यवाइस अफ पोखरेली झ्यालको विजयीका लागि दिनेश सुब्बाको तर्फबाट एउटा गीतमा सँगीत भरिने जानकारी गराइएको छ । फुटबल प्रतियोगितामा भाग लिने टिमहरु चारभन्दा कम भएको खण्डमा सो प्रतियोगिता नै क्यान्सल गरिने भनिएको छ । फुटबल प्रतियोगितामा विजयी हुने पहिलो दोस्रो टिमलाई नेपाली रुपैंया पचास हजार र तीस हजार तथा ट्रफीहरु दिने जनाइएको छ ।

No comments: