News

Nov 20, 2009

नेवानिले विमान किन्न लागेकोमा पर्यटन व्यवसायीहरु उत्साहित

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपाल वायुसेवा निगमले बीस वर्षपछि पहिलोचोटि विमान किन्न लागेकोमा पर्यटन व्यवसायीहरुले आफुहरु उत्साहित भएको बताएका छन्। निगमले कुल दश अर्ब रुपियाँमा एयरबसका दुईवटा विमान किन्न गरेको प्रारम्भिक सम्झौताले पर्यटकहरु भित्र्याउन निकै सजिलो हुने उनीहरुको भनाइ छ। दशदिनभित्र विमान किन्ने अन्तिम सम्झौता भएमा दुई वर्षभित्र ती दुई विमान सञ्चालनमा आउने निगमका अधिकारीहरुको भनाइ छ। निगमले किन्न लागेको दुईवटा विमान मध्ये एउटाले करीब १५० यात्रु बोक्न सक्छ भने अर्कोले झण्डै ३०० यात्रु बोक्न सक्छ। यी विमानहरुबाट खासगरी पश्चिमा देशका पर्यटकहरु भित्र्याउन सहयोग पुग्ने भन्दै व्यवसायीहरुले निगमको निर्णयको प्रशंसा गरेका हुन्।नेपाल टुर अपरेटर्स संघका अध्यक्ष बसन्त मिश्रले भने, “यस्तो निर्णय होस् भनेर हामीले वर्षौंदेखि घच्घचाइरहेका थियौं।”होटल संघ नेपालका अध्यक्ष प्रसिद्ध बहादुर पाण्डे पर्यटन उद्योग फस्टाउन सबैभन्दा ठूलो योगदान विमानसेवाकै हुने बताउँछन्। उनले भने, “कुनै पनि पर्यटन उद्योगको ६० प्रतिशत हिस्सा भनेको विमानसेवाले ओगट्छ।”नयाँ विमानहरुलाई मुख्यत: युरोपेली, भारतीय एवं चिनियाँ पर्यटकहरुलाई भित्र्याउन निगमले प्रयोग गर्नुपर्ने कतिपय व्यवसायीहरुको भनाइ छ।मिश्र भन्छन्, “युरोपमा उडान गरेमा त्यहाँबाट हुने पर्यटकहरुको आगमनमा पक्कै वृद्धि आउनेछ। साथै छिमेकी चीन र भारतबाट पनि अचेल प्रशस्त मानिसहरु घुम्न विदेश जाने चलन बढेकोले त्यतापट्टि ध्यान दिनुपर्छ।” निगमका उप प्रबन्धनिर्देशक राजु केसीका अनुसार दुईवटा विमानको लागि युरोपको एयरबस कम्पनीलाई बैनास्वरुप पाँच करोड रुपियाँ बुझाइसकिएको छ। तर अन्तिम सम्झौता भने भइनसकेको उनले बताए। उनले भने, “नोभेम्बर तीस तारिख भित्र खरीद सम्झौता हुनुपर्नेछ। त्यसको लागि हामी तयारीमा जुटेका छौं।”आउने दश दिनभित्र खरीद सम्झौतामा हस्ताक्षरनै भएपनि ती विमानहरु सञ्चालनमा ल्याउन दुई वर्षसम्म लाग्ने निगम अधिकारीहरुले बताएका छन्। यी दुई विमान सहित आउने पाँच वर्षभित्र मध्यम आकारका तीन र ठूलो आकारका तीन गरी ६ वटा नयाँ विमान किन्ने निगमको योजना रहेको छ। तर विश्लेषकहरु भन्छन्, निगमको खरीद प्रक्रियामा विगतमा हुने गरेका झमेला यसपालि दोहोरिएमा चाहिं नयाँ विमान किन्ने कुरा "आकाशको फल आँखा तरी मर हुन" बेर लाग्दैन।

No comments: