News

Nov 20, 2009

पूर्वीचीनको एक विश्वविद्यालयमा चुम्बन प्रतिबन्धित

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
एक-अर्कामा खुट्टा खप्ट्याएर बस्ने, अंगालोमा बाँधिने वा चुम्बन गर्ने गतिविधिले शैक्षिक संस्थालाई असभ्य थलो बनाउने हुँदा पूर्वीचीनको एक विश्वविद्यालयमा चुम्बन प्रतिबन्धित गरिएको छ युवायुवतीलाई प्रेम प्रदर्शन गर्न, अंकमालमा बाँधिन र चुम्बन गर्न रोक्न खोजिएको त होइन, तर विश्वविद्यालय परिसरमा यस्ता गतिविधि ग्राह्य हुने कि नहुने भन्ने ताजा विवादले चीनमा प्रवेश पाएको छ । यसको समर्थनमा जति देखिएका छन्, विरोधमा तर्क गर्नेहरूको संख्या पनि कम छैन । पूर्वीचीनको एक विश्वविद्यालयले क्याम्पसमा सार्वजनिक रूपमै चुम्बन गर्ने र स्पर्श गर्ने कामलाई प्रतिबन्ध लगाएपछि निगरानीकर्ताहरू निगरानीमै छन् । यस्तो प्रतिबन्धबारे अनलाइन तथा क्याम्पसमै विवाद चर्किरहेको छ । नानजिङ वन विश्वविद्यालयका अधिकारीहरूले करिब सयजना विद्यार्थीलाई पाखुरामा रातो आर्मब्यान्ड लगाएका रक्षकका रूपमा नियुक्त गरेका छन् । क्याम्पसमै सार्वजनिक रूपमा विद्यार्थी केटाकेटीले परस्पर प्रेम प्रदर्शन गर्दै हिँड्ने गरेका हुनाले त्यसलाई कम गर्न यसो गरिएको दाबी गरिएको छ । 'हामी क्याम्पसमा सँगै बसिरहेका वेला मेरो ब्वायफ्रेन्ड र मलाई एकजना रातो रिबनधारीले हस्तक्षेप गर्‍यो । त्यो केटा आयो र हामीलाई धम्की दियो । मलाई यस्तो गरेको पटक्कै मन पर्दैन,' दायान दायान नाम गरेकी एक छात्राले च्याट पोर्टल सिसिनेटमा गुनासो गरेकी छिन् । यस्ता प्रतिरोधात्मक विचार कैयौं अनलाइनमा छ्याप्छ्याप्ती आएका छन् । धेरैले प्रेम प्रदर्शन गर्नाले नियम मिचिएको मान्न नहुने तर्क गरेका छन् । एक ब्लगमा क्याम्पसमा यस्तो हर्कत गर्नाले अन्य हिँडिरहेका मानिसलाई धक्का पुग्ने भएकाले विद्यालयले यस्तो हर्कतको रोकथाम गर्न म्वाइँ खान पाउने मानवअधिकार हनन गर्नुको साटो उपयुक्त तरिका सिकाउने शिक्षा दिनुपर्ने तर्क अघि सारिएको छ । ग्वाङझाउको जिनान विश्वविद्यालयका कानुन विषयका एसोसियट प्रोफेसर लिन आइजुनले यस्तो अनुगमनले मानिसको अधिकार हनन भएको मान्न नसकिने बताएका छन् । उनी भन्छन्, 'स्कुल-क्याम्पसभित्र विद्यार्थीका गलत व्यवहारको नियन्त्रण गर्नु क्याम्पस प्रशासनको अधिकार हो । राता रिबनधारीले त कुनै प्रावधानअन्तर्गत नपर्ने खालका विद्यार्थीका गलत कामविरुद्ध सुझाब मात्र दिएका हुन् ।' मिडियामा विवाद चर्के तापनि विश्वविद्यालयका अधिकारीहरूले न त प्रतिबन्ध हटाउने कुनै संकेत देखिएको छ न त कुनै टिप्पणी नै सार्वजनिक गरेका छन् । एक स्कुल अधिकारीले विश्वविद्यालयलाई असभ्य व्यवहारबाट मुक्त राख्ने प्रयास भनी यस प्रतिबन्धलाई उचित ठहर्‍याएका छन् । उनले चार वर्षयता राता रिबनधारी क्याम्पसमा थुक्ने, हल्ला गरेर पढ्नेजस्ता असभ्य गतिविधि गर्ने कामको अनुगमनका लागि देखा परेका बताए । यस्ता अनुगमनकारीले आंशिक रोजगारी पाएका छन् र मासिक सयदेखि दुई सय युआनसम्म कमाउने गरेका छन् । एक युवतीले भनिन्, 'कस्ता गतिविधि रोक्ने भन्नेबारे मापदण्ड बनाउन सजिलो त छैन तर एक-अर्कामा खुट्टा खप्ट्याएर बस्ने, अंगालोमा कस्सिने वा लामो समयसम्म चुम्बन गरिरहनेजस्ता व्यवहार पक्कै पनि स्वीकार गर्न नसकिने खालकै हुन् । हुन त उनले जवान केटाकेटीको प्रेमालापमा हस्तक्षेप गर्नु लाजमर्दो कुरा हो । तर, के गर्ने, हामीले उनीहरूलाई बोर गर्‍यौँ भन्छन् उनीहरू ।' कहिलेकाहीँ यस्तो हस्तक्षेपले रिसको पारो चढ्दै जान्छ र लडाइँमा बदलिन्छ । तर, राता रिबनधारीले विद्यार्थीको केही समर्थन पनि पाएका छन् । विद्यार्थी लिन यान भन्छन्, 'क्याम्पसमा लामो चुम्बन र अन्य नांगा प्रदर्शन गर्नु ठीक होइन । यसले अन्य मान्छेलाई क्षुब्ध तुल्याउँछ । विश्वविद्यालय भनेको शैक्षिक स्थल हो । त्यस्ता गतिविधि रोकिनैपर्छ ।' अर्की छात्रा चेन मिङलियाङ पनि त्यस्ता गतिविधि अनुगमन गर्नुपर्ने बताउँछिन् । तर, छात्रा वाङ फाङले भने केहीलाई ठीक लागेन भन्दैमा शिक्षालयले युवा विद्यार्थी प्रेमीहरूको स्वतन्त्रता हरण गर्न नहुने तर्क गरिन् । उनले भनिन्, 'शिक्षालयका अधिकारीहरूले विद्यार्थीका अधिकार तथा स्वतन्त्रताको सम्मान गर्न सिक्नुपर्छ ।' 'चुम्बन गर्नु भनेको चुरोट खानुजस्तो होइन, चुरोटले वायु प्रदूषित गर्छ, अरूको स्वास्थ्यलाई हानि गर्छ । मानिसलाई चुम्बन नगर्ने अधिकार पनि छ,' विद्यार्थी चेन ते भन्छन् ।

No comments: