News

Jun 4, 2011

रामदेवले शनिबारदेखि नयाँ दिल्लीमा भोक हड्ताल सुरु गर्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
जेष्ठ २१ - सरकारी प्रतिनिधिसंगको छलफल सहमतिमा पुग्न नसकेपछि विश्व प्रसिद्ध योगगुरु स्वामी रामदेवले शनिबारदेखि नयाँ दिल्लीमा भोक हड्ताल सुरु गर्ने भएका छन् । भ्रष्टाचार र विदेशमा लगिएका 'कालोधन' फिर्तीको माग गर्दै शनिबारदेखि भोक हड्ताल सुरु गर्ने घोषणा गरेका स्वामी रामदेवलाई मनाउने कोशिसमा मन्त्रीहरुको टोली शुक्रबार दिन भर लागेको थियो । करोडौंलाई योग सिकाएका र करोडौं समर्थक रहेका रामदेवको भोक हड्तालको घोषणाले भ्रष्टचारका विभिन्न आरोप खेपिरहेको भारतीय सरकारका लागि टाउको दुखाइ बनेको छ । दिल्लीमा मात्र होइन, रामदेवका समर्थकहरुले भारतका विभिन्न क्षेत्रहरुमासमेत भोक हड्तालको तयारी गरिरहेका छन् । यसअघि एक जना गान्धीवादी सामाजिक कार्यकर्ता अन्ना हजारेले भ्रष्टाचार विरुद्ध कडा कानुनको माग गरेर भोक हड्ताल सुरु गरेपछि भारत सरकारले कानुन ल्याउने प्रतिबद्धता गरेको थियो । अहिले फेरी रामदेवले भ्रष्टाचार र कालोधनको बिरुद्धमा आफुले गरिरहेकै अभियानको एउटा अंशको रुपमा भोक हड्ताल घोषणा गरेपछि सरकार पुन आप्ठ्यारोमा परेको हो ।
'योग गुरुसंग सरकारले फेरी कुराकानी सुरु गर्ने छ' केन्द्रीय एचआरडी मन्त्री कपिल सिवलले रामदेवसंगको वार्ता पछि भने, 'यद्यपी के गर्न चाहन्छन् भन्ने कुरा रामदेवमा नै भार पर्नेछ ।'सरकारको तर्फबाट मन्त्रीहरु सिवल र सुवोधकान्त साहले रामदेवसंग बार्ता गरेका थिए । त्यसअघि अर्थमन्त्री प्रणव मुखर्जी, गृहमन्त्री पी चितम्बरम् र अन्यले बार्ताका बारेमा खाका तयार पारेका थिए । रामदेवको भोक हड्तालको तयारीकै कारण बरिष्ठ मन्त्रीहरुले राजधानी छाडेका छैनन् । अर्थमन्त्री र गृहमन्त्रीले राजधानी बाहिर जाने आफ्नो कार्यक्रम नै रद्द गरेका छन् । बैठकहरु भइरहेकै बेला रामदेवले भने बैठकबाट बाहिर आएर आफ्ना करिव ५ हजार समर्थकहरुलाई सम्बोधन गर्दै केही एक–दुई विषयमा मात्र सहमति नभएको बताएका थिए । उनले भोक हड्ताल कसैको विरुद्धमा वा कसैको प्रायोजनमा नभइ राष्ट्रिय स्वार्थका लागि हुन लागेको बताएका थिए । उनले भन्, 'आउनुहोस राष्ट्रिय स्वार्थका लागि सबै दलहरु सहभागी हुनुहोस् ।'

No comments: