News

Aug 20, 2009

सुजातालाई सरकारबाट फिर्ता बोलाउन कांग्रेसमा दबाब

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भदौ ४ - उपप्रधानमन्त्री बन्न नपाएपछि परराष्ट्रमन्त्री सुजाता कोइरालाले एकाएक भारत भ्रमण स्थगन गर्दा पार्टीको छवि धूमिल भएको भन्दै उनलाई सरकारबाट फिर्ता बोलाउन कांग्रेसमा दबाब परेको छ ।
सानेपास्थित पार्टी कार्यालयमा जारी केन्द्रीय समितिको बुधबारको बैठकमा सदस्यहरूले एकलौटी निर्णय गर्ने सुजातालाई फिर्ता बोलाएर अनुशासनको कारबाही गर्न दबाब दिए ।सुजाताको एक्लो असन्तुष्टिसँगै कांगे्रस सरकारबाट बाहिरिन्छ कि भन्ने टिकाटिप्पणी आएपछि केन्द्रीय समितिले 'वर्तमान सरकारलाई मजबुत गर्ने' निर्णय लिएको छ । 'वर्तमान सत्ता समीकरणलाई कांग्रेस निरन्तर समर्थन र सहभागी हुने कुरा दृढतापूर्वक व्यक्त गर्छ,' कांग्रेसको निर्णयमा भनिएको छ । बैठक कार्यवाहक सभापति सुशील कोइरालाको अध्यक्षतामा बसेको थियो । बैठकपछि कांग्रेस संसदीय दलका नेता एवं पार्टी उपसभापति रामचन्द्र पौडेलले परराष्ट्रमन्त्रीको भ्रमण स्थगनले प्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको सरकार टुट्छ कि भन्ने आशंका गर्नु नपर्ने बताए । 'गठबन्धन सरकार नै टुट्दैछ भन्ने खालका जुन आशंका गरिँदैछ, त्यसप्रति कुनै सत्यता छैन,' उनले भने, 'सरकारको दृढ समर्थन र सहभागिता प्रस्ट पार्न चाहन्छौं ।' भ्रमणमा निस्कनु अघिल्लो दिन भेट्न पुगेका प्रधानमन्त्री नेपालसँग सभापति गिरिजाप्रसाद कोइरालाले सुजातालाई उपप्रधानमन्त्री बनाएर भ्रमणमा लैजान भनेका थिए । प्रधानमन्त्री नेपालले नमानेपछि सुजाताले निस्कनु केही घन्टाअघि मात्रै 'बिरामीको बहानामा' भ्रमण स्थगन गरेकी थिइन् ।
कांग्रेसले उपप्रधानमन्त्रीको कुनै दाबा नलिएको पार्टी प्रवक्ता अर्जुननरसिंह केसीले बताए । 'उपप्रधानमन्त्रीमा कांग्रेसको संस्थागत दाबा थिएन र छैन पनि,' उनले भने, 'कसैको व्यक्तिगत लहडले पार्टीको संस्थागत निर्णयको रूप लिन सक्दैन ।' कांग्रेस उपसभापति प्रकाशमानसिंह श्रेष्ठले 'परराष्ट्रमन्त्री प्रधानमन्त्रीसँग भारत भ्रमणमा नगएपछि अनेक टिकाटिप्पणी आएको हुँदा सरकार मजबुत पार्ने निर्णय भएको' बताए । 'परराष्ट्रमन्त्रीको व्यक्तिगत निर्णयलाई पार्टीकै आधिकारिक निर्णय हो कि भन्ने भ्रमसमेत पर्‍यो,' श्रेष्ठले भने । उनले यही गठबन्धनको सरकारबाट नयाँ संविधान जारी गर्नेदेखि चुनावसम्म मिलेर जाने बताए । बैठकमा सुजातालाई उपप्रधानमन्त्रीमा पदोन्नति गर्ने सभापति कोइरालाले प्रधानमन्त्रीसँग व्यक्त गरेको भनाइप्रति पनि अधिकांश केन्द्रीय सदस्यले आलोचना गरेका थिए । कोहीले उनको भ्रमण स्थगनको वास्तविकता बुझ्न स्पष्टीकरण लिएर अनुशासनको कारबाही गर्नुपर्ने बताएका थिए ।
सरकारमा कांग्रेसको नेतृत्व गर्ने व्यक्तिबाटै सामान्य कूटनीतिक मर्यादा पालनासमेत नभएको यो घटनाले पार्टी र मुलुकलाई लज्जित तुल्याएको भन्दै केन्द्रीय सदस्यहरूले अनुशासनको कारबाही हुनुपर्ने तर्क अघि सारेका थिए । उपसभापति श्रेष्ठले अनुशासनसम्बन्धी कारबाही हुनुपर्छ भन्ने धारणा आए पनि कुनै निर्णय भइनसकेको बताए । बैठकमा धारणा राखेका १९ जना केन्द्रीय सदस्यमध्ये १७ जनाले सुजाताको भ्रमण स्थगनले सरकारको स्थायित्व र विश्वसनीयतामा प्रश्न उठेको बताउँदै यसलाई स्पष्ट पारेर अघि बढ्नुपर्ने सुझाव दिएका थिए । पार्टीमा छलफल नगराई एकलौटी निर्णय लिने कांग्रेस सभापति कोइरालाको प्रवृत्तिप्रति व्यापक आलोचना भएको थियो । 'अब पार्टी र सरकारबारे कोइरालाले पार्टीको संस्थागत निर्णयभन्दा बाहिर जान पाउनु हुन्न,' सदस्यहरूले भने । सभापति कोइरालाले भने सुजाताको भ्रमण स्वास्थ्यकै कारण स्थगन भएको सन्देश केन्द्रीय समितिलाई पठाएका छन् । उनले कार्यवाहक सभापति कोइराला र संसदीय दलका नेता पौडेलसँग मंगलबार साँझ भएको भेटमा यस्तो सन्देश पठाएका हुन् । कोइरालाको भनाइ कार्यवाहक सभापतिले बैठकमा राखेका थिए । कांग्रेस केन्द्रीय सदस्य नरहरि आचार्यले यो निर्णयबाट संस्थागत रूपमा सरकारको फेरबदलमा कुनै परिवर्तन नपार्ने बताए । 'संस्थागत रूपमा सरकारलाई प्रतिकूल कुनै असर पुग्दैन,' उनले भने, 'व्यक्तिलाई कस्तो प्रभाव पार्छ भन्ने कुरा छानबिन भएको छैन ।' सुजाता भने बुधबार पनि दिनभर निवासमै थिइन् । उनी दिनभरजसो आफ्ना नजिकका नेता तथा कार्यकर्तासँग निरन्तर सम्पर्कमा रहिन् । भ्रमण स्थगनबारे प्रतिक्रिया लिन खोज्दा उनी सम्पर्कमा आउन चाहिनन् । उनका प्रमुख स्वकीय सचिव भरत सापकोटाले 'मन्त्रीज्यू कमजोर भएर आराम गरिराख्नुभएको छ' भनी प्रतिक्रिया दिए । पार्टीले लिएको निर्णय र उठाएका विषयमा उनले आपत्ति प्रकट गर्दै आफ्नो स्वार्थसिद्धका लागि यी सबै कुरा भइरहेको भन्दिनु भनेर स्वकीय सचिवलाई भनेकी थिइन् । 'मन्त्रीज्यूले यही भन्नुभएको छ,' सापकोटाले भने ।

No comments: