News

Aug 26, 2009

जापानी राजनीतिमा पारिवारिक घरानाका घम्साघम्सी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
राजनीतिमा बाउको बिँडो थाम्ने प्रचलन नयाँ होइन । धैरै देशका राजनीतिमा परिवार हाबी छन् । अमेरिकामा बुस र केनेडी, भारतमा गान्धी, नेपालमा कोइराला आदि राजनीतिमा जमेका परिवार हुन् । जापान पनि यस मामलामा कम छैन । आउँदो ३० अगस्टमा जापानमा आमनिर्वाचन हुँदै छ । र, यस निर्वाचनमा धेरै उम्मेदवार आ-आफ्ना पुर्खा या परिवारले राजनीति गरेका क्षेत्रबाट उठेका छन् । सत्तासीन लिबरल डेमोक्रेटिक पार्टीका एकतिहाइ उम्मेदवार ती-ती क्षेत्रबाट उठ्दै छन्, जहाँ उनीहरूका परिवारले पहिले जितेका थिए । प्रमुख प्रतिपक्षी दल डेमोक्रेटिक पार्टी अफ जापानका भने दस प्रतिशत उम्मेदवार मात्रै परिवारले प्रभाव जमाएका क्षेत्रबाट उठेका छन् । यी दुवै पार्टीका नेता भने राजनीतिक घरानाका हुन् । चुनावी प्रचार-प्रसारमा हाल सबैभन्दा न्यानो स्वागत पाइरहेका छन्- सिन्जिरो कोइजुमी । तीस पनि नकाटेका सिन्जिरो पूर्वप्रधानमन्त्री जुनिचिरो कोइजुमीका छोरा हुन् । उनको उम्मेदवारीले एक प्रकारको सनसनी फैलाएको छ । चुनावी प्रचारका क्रममा उनले दिएको पहिलो भाषण सुन्न सयौं मान्छे ओइरिएका थिए । भ्यानको छतबाट उनले आफ्ना मतदातालाई सम्बोधन गरेका थिए र उनको पहिलो भाषण मानिसमा राम्रै प्रभाव पार्न सफल भएको थियो । उनको निर्वाचन क्षेत्र योकोसुकामा मानिसहरू उनलाई आफ्नो पि्रय छोरोजस्तै मान्छन् । उनी सडकमा हिँडिरहेका वेलामा मध्यउमेरका महिलाहरू स्नेहले उनको हात समात्ने गर्छन् । अद्भूत र आकर्षक व्यक्तित्वका धनी पूर्वप्रधानमन्त्री जुनिचिरोको छोरो हुनु नै सिन्जिरोलाई लोकपि्रय बनाउन पर्याप्त भएको छ । रेल चढ्ने हतारोमा रहेकी एक महिलाले भनिन्, 'मलाई उनका बाबु जुनिचिरो असाध्यै मन पर्छ । र, सिन्जिरो जुनिचिरोको छोरा भएकाले उनीसँग हाम्रो धेरै अपेक्षा छ । उनले अवश्य ठुल्ठूला काम गर्नेछन् ।' किनमेल गरिरहेका एक मानिसले भने, 'म सिन्जिरोलाई मन पराउँछु । यहाँ उनका धेरै प्रशंसक छन् । उनले पक्कै जित्नेछन् ।' जापानका प्रमुख दुई दलका नेताबीच खान्दानी द्वन्द्व चलिरहेकै छ । प्रधानमन्त्री तारो यासो र विपक्षी दलका नेता युकियो हातोयामा आज मात्रै राजनीतिक प्रतिद्वन्द्वी भएका होइनन् । सन् १९५० मा यासोका प्रधानमन्त्री हजुरबालाई हातोयामाका हजुरबाले प्रतिस्थापन गरेका थिए । अचेल जापानमा राजनीतिक घरानाहरूको प्रभुत्त्वलाई लिएर बहस गरिन थालिएको छ । पारिवारिक प्रभुत्त्वका कारण शक्तिशाली भएका स्थानीय राजनीतिक शक्तिहरूले कतै अरू शक्तिलाई माथि आउनै नदिने त होइन भन्ने चिन्ता व्यक्त गरिन थालिएका छन् । तर, जति नै बलियो राजनीतिक पृष्ठभूमि भएको परिवारबाट आए पनि जापानी राजनीतिमा टिक्न भने गाह्रो छ । यसका उदाहरणका रूपमा दुई पूर्वप्रधानमन्त्री सिन्जो एबे र यासु फुकुदालाई लिने गरिन्छ । सिन्जोका हजुरबा र फुकुदाका बाबु प्रधानमन्त्री थिए । सिन्जो र फुकुदा दुवै एक वर्षभन्दा बढी टिक्न सकेका थिएनन् । उनीहरू दुवैको राजीनामालाई वंशाणुगत कमजोरीका रूपमा आलोचना गरिएको थियो । 'उनीहरूसँ पर्याप्त पैसा थियो,' मात्सुसिता इन्स्िटच्युट अफ गभर्मेन्ट एन्ड मेनेजमेन्टका उपनिर्देशक नोरिएकी सुचिया भन्छन्, 'उनीहरूका थुप्रै प्रशंसक थिए र परिवारको नाम थियो । तैपनि उनीहरूले राम्रा गर्न सकेनन् ।' मात्सुसिता इन्स्िटच्युट विद्युतीय सामग्री उत्पादन गर्ने विश्वप्रसिद्ध कम्पनी पानासोनिकका संस्थापकद्वारा स्थापना गरिएको थियो । राजनीतिमा आउन चाहने प्रतिभाशाली युवाहरूलाई प्रशिक्षित गर्नका लागि यसको स्थापना गरिएको थियो । यसको प्रमुख उद्देश्य राजनीतिमा पारिवारिक पृष्ठभूमि नभएका तर प्राचीन जापानी सद्गुणहरूले सम्पन्न नेताहरूको पुस्ता तयार गर्नु थियो । यस संस्थाका विद्यार्थीहरू केन्दो नामक मार्सल आर्ट, काठेतरबारबाजी, ध्यान आदिको अभ्यास गर्नुका साथै बहस र कार्यपत्र लेख्न पनि सिक्छन् । बिहान उनीहरू सडक बढारिरहेका हुन्छन् । समाज सेवा र सद्व्यवहारका माध्यमले उनीहरू राजनीतिमा उच्च स्थानमा पुग्न चाहन्छन् । 'तर, हाम्रा विद्यार्थी सफल हुने समय आउन भने निकै बाँकी छ,' मात्सुसिताका उपनिर्देशक नोरिएकी सुचिया भन्छन् । सिन्जिरो कोइजुमीसँग प्रतिस्पर्धामा उत्रेका छन्- एक ट्रकचालकका छोरा कात्सुहितो योकोकुमे । मानिसहरू उनीहरू दुईको प्रतिस्पर्धालाई हात्ती र कमिलाबीचको प्रतिस्पर्धा भनिरहेका छन् । तर, कात्सुहितोले हिम्मत हारेका छैनन् । उनी साइकल चढेर आफ्नो प्रचारमा निक्लिरहेका छन् ।

1 comment:

Anonymous said...

म श्री एडम्स केभिन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै ठीक आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: तपाईं रुचि हो यो इमेल मा हामीलाई सम्पर्क यदि हामी, 3% ब्याज दर मा ऋण दिन।.