News

Aug 23, 2009

विदेशमा जाँदा प्रिपेड मोबाइलबाट कल गर्न र रिसिभ गर्न सक्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भदौ ७- नेपाली ग्राहकले विदेशमा जाँदा प्रिपेड मोबाइलबाट कल गर्न र रिसिभ गर्न सक्ने भएका छन्। रोमिङको यो सुविधाले गर्दा खल्तीमा अटाउने सानो चिजले मानिसलाई जहाँ भए पनि सम्पर्क टुट्न दिँदैन। तर सेवाका लागि तिर्नुपर्ने महसूल भने निकै चर्को छ। स्पाइस नेपालले यो सुविधा सुरु गरेको छ भने नेपाल टेलिकमले चाँडै सेवा सुरु गर्नेछ। टेलिकमका ग्राहकले ४६ देशमा जाँदा मोबाइलमा फोन रिसिभ र कल गर्न पाउने छन्। 'अहिलेसम्म पोष्टपेडका ग्राहकलाई मात्र विदेशमा जाँदा यो सूविधा उपलब्ध छ,' टेलिकमका अन्तर्राष्ट्रिय रोमिङ संयोजक दिनेशचन्द्र पन्थीले भने। केही महिनाभित्रै प्रिपेडबाट सुरुमा भारत र त्यसपछि अरु देशमा दिने तयारी भइरहेको छ।स्पाइस नेपाल (मेरो मोबाइल) ले प्रिपेडमा समेत रोमिङ सुरु गरिसकेको छ। मेरो मोबाइलका प्रिपेड ग्राहकले भारत, टर्की, श्रीलंकामा जाँदा आफ्नै फोनबाट कुराकानी गर्न सक्नेछन्।स्पाइसले अहिलेसम्म ७० देशका एक सय ६३ मोबाइल कम्पनीसँग रोमिङ सम्झौता गरिसकेको छ। सम्झौताअनुसार एक सय ६३ मोबाइल कम्पनीका ग्राहक आफ्नो मोबाइल सेट लिएर नेपाल आउँदा यहाँको सिमकार्ड नलिए पनि फोन रिसिभ र कल गर्ने सुविधा पाउनेछन्।रोमिङ भन्नाले ग्राहक आफ्नो मोबाइल टेलिफोन सेट लिएर जुनसुकै देशमा जाँदा पनि कूराकानी गर्ने सुविधा पाउनु हो। यस्तो सेवा पाउन स्थानीय मोबाइल कम्पनीले विदेशका कम्पनीसँग सम्झौता गर्नुपर्छ। सम्झौता भएका मोबाइल कम्पनीका ग्राहक अर्को देशमा पुग्दा मोबाइलको सिग्नल टिप्ने र कुराकानी गर्न सक्नुपर्छ।टेलिकमले आउटबण्ड (नेपालको मोबाइल लिएर जाँदा कुराकानी गर्न मिल्ने) रोमिङका लागि ४६ देशका एकसय १३ कम्पनीसँग सम्झौता गरिसकेको छ। ४६ देशहरुमा विकसित अमेरिकादेखि सबैभन्दा नजिकको भारत, भूटानसमेत छन्।त्यस्तै इनवण्ड रोमिङ (यहाँ आउँदा विदेशीले कुराकानी गर्नसक्ने) को लागि टेलिकमले ४७ देशका एकसय ५१ कम्पनीसँग सम्झौता गरेको छ। यसमा संसारका अधिकांश देश पर्छन्।स्पाइसले दुवै प्रकारको रोमिङको लागि ७० देशका एक सय ६३ कम्पनीसँग सम्झौता गरेको छ। स्पाइसका उच्च अधिकारीका अनुसार एक सय ६३ मोबाइल कम्पनीका ग्राहक नेपाल आउँदा कुराकानी गर्न र एसएमएस गर्न पाउने छन्।टेलिकमले अहिले पोष्टपेड मोबाइलमा मात्र रोमिङ सूविधा दिइरहेको छ। 'रोमिङ सुविधा लिन फर्म भरेर ३० हजार रूपैयाँ धरौटी राख्नुपर्छ,' रोमिङ संयोजक पन्थीले भने। स्पाइसले भने रोमिङ सेवा लिन १० हजार रूपैयाँ मात्र धरौटी लिन्छ।

No comments: